न्याय परिषद्को छानबिनमा चार न्यायाधीश, कानुनमन्त्रीविरुद्धको उजुरी अलपत्र

परिषद्ले कांग्रेस नेता मोहम्मद आफताब आमलको हत्या मुद्दामा सफाइ दिएका दुई न्यायाधीश र खराब आचरण उजुरीमा परेका दुई अन्य न्यायाधीशमाथि छानबिन गरिरहेको छ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Complaints against four judges, law minister stalled in Justice Council investigation

What you should know

काठमाडौँ — न्याय परिषद्ले उच्च र जिल्ला अदालतका दुई–दुई न्यायाधीशमाथि छानबिन अघि बढाएको छ । परिषद्ले कांग्रेसका नेता मोहम्मद आफताब आमललाई ज्यान मार्ने कसुरमा मुद्दामा सफाइ दिएका जनकपुर उच्च अदालत वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गरिरहेको छ । जिल्ला अदालत रसुवाका न्यायाधीश भुवनसिंह थापा र दार्चुलाका न्यायाधीश पुष्पराज पाण्डे भने खराब आचरणको उजुरीका कारण छानबिनमा तानिएका हुन् ।

छानबिनमा को–को ?– खुसीप्रसाद थारु र अर्जुन महर्जन (उच्च अदालत)– भुवनसिंह थापा र पुष्पराज पाण्डे (जिल्ला अदालत)

आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारु र महर्जनको प्रतिवेदन अन्तिम चरणमा 

साढे १७ वर्षअघिको बम विस्फोट घटनाका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको कसुरमा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएका पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई उच्च अदालतका न्यायाधीशद्वय थारु र महर्जनले गत १४ जेठमा सफाइ दिएका थिए । सफाइ दिने क्रममा घटना भएको पुष्टि हुने प्रमाण फेला नपरेको तर्क गरिएको थियो । उच्च अदालतको फैसलालगत्तै आलम रिहा भएका थिए ।

इँटाभट्टामा जलाएर ज्यान लिइएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुतका ८४ वर्षीय पिता नारायणसिंह राजपुत १९ जेठमा न्यायपरिषद्‌मै पुगेर सफाइ दिने न्यायाधीशद्वयमाथि छानबिनको माग गर्दै उजुरी दिएका थिए । फैसला भएको दुई दिनपछि नै अधिवक्ता युवराज सफलले पनि न्यायाधीशद्वयविरुद्ध परिषद्‌मा उजुरी दिएका थिए । घटनाका एक प्रत्यक्षदर्शीले यस विषयमा पत्रकार सम्मेलन नै गरेका थिए ।

दबाब बढेपछि न्याय परिषद्ले न्यायाधीशद्वयमाथि छानबिनका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मालाई जिम्मा दिएको थियो । थारु र महर्जनलाई न्याय परिषद्‌मा हाजिर गराउँदै छानबिन अघि बढाइएको छ ।

प्रतिवेदन तयार हुँदै 

न्याय परिषद्‌का एक सदस्यका अनुसार छानबिन समितिले जिल्ला र उच्चको फैसला, न्याय परिषद्‌मा दर्ता भएको उजुरी अध्ययन तथा फैसलामा संलग्न न्यायाधीशहरूको बयान, पीडित र जिल्ला सरकारी वकिल कार्यालयका कर्मचारीसँग बयान लिइएको छ । ‘समितिले अध्ययन सकेको र अब प्रतिवेदन लेखन मात्र बाँकी रहेको जानकारी छ,’ ती सदस्यले भने, ‘समितिले कानुनमन्त्री अजयकुमार चौरसियामाथि पनि केही प्रश्न उठाउने सम्भावना छ ।’

२७ चैत २०६४ को बम विस्फोटमा घाइते भएका पिन्टु र ओसी अख्तरलाई रौतहटको राजापुरस्थित इँटाभट्टामा जिउँदै जलाएको कसुरमा जिल्ला अदालतले गत वर्ष असारमा जन्मकैदको सजाय गरेको थियो । उक्त फैसलाविरुद्ध आलमले उच्च अदालतमा पुनरावेदन गरेका थिए । त्यही पुनरावेदनमा सफाइ दिइएको हो ।

कानुनमन्त्रीको उजुरी अलपत्र

आलमलाई सफाइ दिइएको विषयमा कानुनमन्त्री अजयकुमार चौरसियामाथि पनि छानबिनको मागसहित उजुरी परेको थियो । फैसलाका लागि ‘सेटिङ’ मिलाएको आरोप उनीमाथि छ । स्वतन्त्र सांसद अमरेश सिंहले प्रतिनिधिसभा बैठकमै मन्त्री चौरसियाको ‘कल डिटेल्स’ मगाएर छानबिन गर्न माग गरेका थिए । मन्त्रीविरुद्धको उजुरीमाथि छानबिन भने परिषद्ले अघि बढाएको छैन ।

खराब आचारणका कारण तानिए दुई जिल्ला न्यायाधीश 

रसुवाका न्यायाधीश थापाले भने सेवाग्राही महिलालाई ‘यौन प्रस्ताव’ को सन्देश पठाएको पाइएपछि न्याय परिषद्ले छानबिनका लागि काठमाडौँ तानेको थियो । बहुविवाहको मुद्दा खेपिरहेकी महिलासँग सरकारी वकिलमार्फत नजिकिएर थापाले ‘यौन प्रस्ताव’ गरेको उजुरी परिषद्‌मा परेको थियो ।

दार्चुलाका जिल्ला न्यायाधीश पाण्डेविरुद्ध जिल्ला अदालतका १३ कर्मचारीले उजुरीसहित सामूहिक राजीनामाको खबर सर्वोच्च अदालतमा पठाएपछि छानबिनका लागि तानिएको हो । कर्मचारीहरूले उनको आचरणको प्रश्न उठाएका छन् ।

मालिकार्जुन गाउँपालिका–५, दार्चुलाका गोविन्दराम लोहार र महेशराम लोहारले न्यायाधीश पाण्डेलाई कारबाहीको माग गर्दै अलग्गै उजुरी दिएका छन् । मालिकार्जुन–५ का वडा सचिव गंगाराम लोहारको हत्याका अभियुक्तहरूलाई आर्थिक लेनदेनका आधारमा पाण्डेले सफाइ दिएको उनीहरूको आरोप छ । पाण्डेको इजलासले २२ पुस २०८१ मा सबै प्रतिवादीलाई सफाइ दिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully