१० लाख धरौटी बुझाएर छुटे सूर्यदर्शनका पूर्वअध्यक्ष बम्जन

बम्जन जीबी राईका जेठान पनि हुन् । बम्जनकै कम्पनीमा कार्यरत रहँदा जीबी राईले उनकी बहिनीसँग दोस्रो विवाह गरेका थिए ।

भाद्र ८, २०८२

दीपक परियार

Bamjan, the former chairman of Suryadarshan, was released after paying a bail of 10 lakhs

What you should know

पोखरा — पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनलाई जिल्ला अदालत कास्कीले धरौटी तारेखमा छाड्न आदेश दिएको छ । सहकारी ठगी अभियोगमा फरार रहेका उनी आइतबार नै अदालत उपस्थित भएर बयान दिएका थिए ।

न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख रुपैयाँ धरौटी राखेर छाड्ने आदेश दिएको हो ।

उनी आइतबार नै धरौटी बुझाएर छुटेको कास्की अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । बम्जनले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै इन्कारी बयान दिएका थिए । उनीमाथि सूर्यदर्शनको १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम अपचलनमा सामूहिक दायित्व कायम हुने अभियोगे छ । जिल्ला सरकारी वकिल कार्यालयले ७ पुस ०८१ मा पेस गरेको अभियोगपत्रमा बमजन एक्लैले १ करोड ५४ लाख ४९ हजार ८ सय ३९ रुपैयाँ अपचलन गरेको दाबी गरिएको छ ।

१ असार ०६५ मा मीना गुरुङको अध्यक्षतामा सहकारीको तदर्थ सञ्चालक समिति गठन भएपछि २७ भदौमा भएको प्रारम्भिक साधारणसभाले बम्जनको अध्यक्षतामा पहिलो सञ्चालक समिति गठन गरेको थियो । उनीपछि १७ मंसिर ०६८ मा गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष भएका थिए । बम्जन जीबी राईका जेठान पनि हुन् । बम्जनकै कम्पनीमा कार्यरत रहँदा जीबी राईले उनकी बहिनीसँग दोस्रो विवाह गरेका थिए । पछिल्लो समय बम्जन अमेरिकामा बस्दै आएका थिए ।

बयान सकिएलगत्तै आइतबार नै बम्जन र सहकारीपीडिततर्फका कानुन व्यवसायीले बहस गरेका थिए । बम्जनका तर्फबाट अधिवक्ताद्वय द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए । सहकारीपीडितका तर्फबाट युवराज पराजुली बीबी विष्ट र दीपक शर्मा पौडेलले बहस गरे । पीडितर्फबाट बहस गर्नुपर्ने सरकारी वकिल भने बहसमा उपस्थित थिएनन् ।  

बहसका क्रममा बोल्न नदिइएको भन्दै सूर्यदर्शन सहकारीपीडितले असन्तुष्टि जनाएका छन् । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सरकारी वकिल वा अदालत दुवै पक्षबाट आफूहरूलाई कुनै जानकारी नदिइएको गुनासो गरे । ‘न्यायाधीशले कुनै आदेश नगर्दा पनि प्रहरीले हामीलाई इजलासमा बोल्नबाट रोक्यो,’ उनले भने, ‘सरकारी वकिल कार्यालयले पनि हामीसँग समन्वय गरेन ।’

सूर्यदर्शन सहकारी ठगीमा १८ असोज ०८० मा १९ र ७ पुस २०८१ मा ४४ गरी ६३ जनाविरुद्ध मुद्दा चलिरहेको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully