शिक्षा विधेयकमा शिक्षक महासंघ पनि असन्तुष्ट, भदौ ९ देखि आन्दोलन गर्ने घोषणा

पूर्वसहमतिबमोजिम शिक्षा क्षेत्रका समस्या समाधान गर्ने गरी विधेयक ल्याउनुपर्नेमा त्यस्तो नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको हो।

भाद्र ६, २०८२

सुदीप कैनी

The teachers' federation is also dissatisfied with the education bill, announcing to protest from August 9

काठमाडौँ — नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पूर्वसहमतिबमोजिम शिक्षा क्षेत्रका समस्या समाधान गर्ने गरी विधेयक ल्याउनुपर्नेमा त्यस्तो नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको हो।

भदौ ९ गतेदेखि देशभर एक साथ आन्दोलन गर्ने घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। 

उनका अनुसार आन्दोलनका कार्यक्रमअन्तर्गत पहिलो चरणमा स्थानीय तह, राजनीतिक दल, शिक्षामन्त्री र प्रधानमन्त्रीलाई आफ्ना मागहरू जानकारी गराउने, ध्यानाकर्षण दिने र त्यसपछि पनि मागहरू पूरा नभए भदौ २१ गतेदेखि निषेधात्मक निर्णायक आन्दोलन गर्ने तयारी छ। 

उक्त विधेयक संसद्‌को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलपछि बिहीबार पारित भइसकेको छ। अब प्रतिनिधिसभामा पेस हुनेछ।

त्यसअघि बिहीबारदेखि निजी विद्यालय सञ्चालकहरूले आन्दोलन सुरू गरिसकेका छन् भने शिक्षक महासंघले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। शिक्षकहरूले यसअघि गत चैत १५ देखि २९ दिनसम्म निरन्तर आन्दोलन गरेका थिए। 

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully