नयाँ कामका अवसर र मासिक डेढ लाख रुपैयाँसम्मको आम्दानीले हुम्लाका बासिन्दालाई ताक्लाकोटतर्फ तानिरहेको छ।
What you should know
सुर्खेत — हुम्लाको नाम्खा गाउँपालिका–४ का पासाङ छोम्तेन लामा झन्डै ११ वर्षदेखि रोजगारीका लागि सीमापारि चीनको व्यापारिक केन्द्र ताक्लाकोट जान्छन् । कोरोना महामारीका कारण चार वर्ष नाका नखुल्दा उनलाई परिवारको जीविकोपार्जनमा समस्या भयो ।
‘भारी बोक्ने, गाडीमा सामान लोड–अनलोड, सडक मर्मत गर्नेलगायत काम त्यहाँ नेपालीले नै गर्ने हो,’ उनले भने, ‘काम गर्दा महिनामा डेढ लाख रुपैयाँसम्म कमाइ हुन्छ, त्यसैले हामी हुम्लावासीका लागि रोजगारीको गन्तव्य नै ताक्लाकोट बनेको छ ।’ जिल्ला प्रशासनबाट प्रवेश अनुमतिपत्र लिइसकेका उनी दुई सातापछि यसपालि पनि ताक्लाकोट जाने तयारीमा छन् ।
झन्डै एक दशकदेखि ताक्लाकोटकै मजदुरीले सदरमुकाममा घरजग्गा किनेका सिमकोट गाउँपालिका–७ का लोकजंग बुढालाई पनि एक सातापछि ताक्लाकोट जाने धपेडी छ । ‘स्थानीयस्तरमा केही रोजगारी छैन, ताक्लाकोट गए ६ महिना काम गरे पनि वर्षभरिको खर्चको जोहो हुन्छ,’ उनले भने, ‘उता सजिलै मजदुरीको काम पाइने भएकाले जीविकोपार्जनको भर बनेको हो, त्यहाँ सामान्य काम गर्दा पनि महिनामा सजिलै डेढ लाखसम्म कमाइ हुन्छ ।’
चीन सरकारले कोरोना महामारीका कारण झन्डै चार वर्ष बन्द गरेको हिल्सा नाका २०८१ वैशाख १८ देखि खोलेपछि ताक्लाकोट जाने युवाको संख्या बढिरहेको छ । यस वर्षका लागि १० हजार ९ सय ५५ जनाले सीमा पास लिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । जसमध्ये ८ हजार २ सय ३७ जनाले नयाँ र २ हजार ७ सय १८ जनाले सीमा पास नवीकरण गरेका हुन् । अहिले दैनिक १५ देखि ५० जनासम्मले सीमा पास लिने गरेको उनले जनाए ।
हुम्लाका बासिन्दालाई निःशुल्क वितरण हुने पासको अवधि एक वर्षको हुन्छ भने प्रत्येक वर्ष साउनमा नवीकरण गर्नुपर्छ । ‘पासले ३० किलोमिटर चीनतर्फ ताक्लाकोटसम्म जान पाइन्छ, ताक्लाकोट पछि विकास भएको सहर हो, त्यसैले त्यहाँ नयाँ पूर्वाधार निर्माणको काम पनि सजिलै पाइन्छ,’ पाण्डेयले भने, ‘तर नेपाल—चीनबीच श्रम सम्झौता भएको छैन, जसका कारण स्थानीय सरकारले तोकेको पारिश्रमिकबाट वञ्चित छन्, बिमालगायत अन्य सुविधा पनि पाउँदैनन् ।’ अहिलेसम्म काम गर्दा घाइते भएकाहरूले भने उपचार सुविधा पाइरहेको उनले जनाए ।
चिनियाँ स्वशासित क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गत पुलान काउन्टी (जिल्ला) को सदरमुकाम हो ताक्लाकोट । यहाँ मजदुरी गरेरै मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने गरेको नाम्खा गाउँपालिका–५ का पेम्बा तामाङले बताए । दैनिक मजदुरी गर्नेले औसत प्रतिदिन तीन सय चिनियाँ युआन (सुकर) कमाउने गरेका छन् । उक्त मुद्राको नेपाली विनिमय दर १९ रुपैयाँ ४५ पैसा छ । ‘रासन र कोठा भाडा पनि सस्तो छ, खाना—बस्न १५ देखि २५ हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘त्यसैले वर्षमा ३/४ महिना काम गरे पनि वर्षभरिको खर्चको जोहो गर्न सकिन्छ ।’
प्रायः हुम्लावासीले भारी बोक्ने, घर बनाउने, होटलमा काम गर्ने गर्छन् । हिउँदमा अत्यधिक चिसो हुने भएकाले गर्मी सिजन ताक्लाकोटको रोजगारीका लागि उपयुक्त मानिन्छ । ‘काम गरेर फर्कंदा वर्षभरि पुग्ने घरायसी सामान चीनबाटै ल्याउने गरेका छौं, फर्कंदा ३/४ लाख बचत पनि हुन्छ,’ तामाङले भने, ‘जान सजिलो र कमाइ पनि राम्रो हुने भएकाले हाम्रा लागि जीविकोपार्जनको आधार नै ताक्लाकोट हो ।’
ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका लागि सीमा पास लिएकाहरू हिल्सा नाका हुँदै जाने गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले बताएको छ । अहिले ताक्लाकोटमा ३ सय १२ जनाले विभिन्न व्यापार व्यवसाय गर्न पास लिएको कार्यालयको भनाइ छ । ‘हामीले एक वर्षको अवधि राखेर व्यक्तिको फोटो र अन्य विवरणसहितको सीमा पास दिने गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘त्यसैका आधारमा उनीहरू चीन प्रवेश गर्छन् ।’
ताक्लाकोटमा सबैभन्दा धेरै नाम्खा र सिमकोटका बासिन्दा जाने गरेका छन् । यी दुई पालिकाका झन्डै ७० प्रतिशत युवा ताक्लाकोट गएको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नाम्ग्याल तामाङले बताए । कतिपयले बालबालिकासमेत आफैंसँग लैजाने गरेका छन् । ताक्लाकोटमा नेपाली जडीबुटीको व्यापार पनि राम्रो छ । जसका कारण यार्चागुम्बा, फुरु, गुच्ची च्याउ, थाक्नालगायत जडीबुटी बिक्रीका लागि हुम्लाका केही व्यापारी पनि बर्सेनि त्यहाँ जाने गरेको उनले जनाए ।
‘यहाँबाट जडीबुटी काठमाडौंसम्म पुर्याउँदा अनावश्यक झन्झट व्यहोर्नुपर्छ, त्यसैमा चर्को करको मार,’ तामाङले भने, ‘त्यही पनि काठमाडौंमा एक त व्यापारी नै आउँदैनन्, आए पनि उनीहरूले चाहेको मूल्यमा बेच्नुपर्ने बाध्यता छ ।’ अहिले ताक्लाकोटमा यार्चा प्रतिकिलो २० देखि २४ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
हुम्लाका बासिन्दा वैदेशिक रोजगारीका लागि अन्य देश जाने चलन कमै रहेको सिमकोटका व्यापारी कर्णबहादुर रावलले बताए । ‘हाम्रा लागि त खाडी मुलुक र युरोपका देशझैं रोजगारीको गन्तव्य चीन मात्र हो, त्यसमा पनि ताक्लाकोटमा सजिलै मजदुरीका लागि जान पाइन्छ,’ उनले भने, ‘कोरोना कहरका कारण नाका बन्द हुँदा हाम्रो गाँस काटिएझैं भएको थियो, अब जीविकोपार्जन सहज हुने आशा छ ।’ उनका जेठा छोरा मानबहादुर दुई महिनाअघि नै कामका लागि ताक्लाकोट गइसकेका छन् । ताक्लाकोट गएका स्थानीय भारी हिमपात हुनुअघि मंसिरतिर घर फर्किन्छन् ।
हिउँदमा हुम्लाको न्यालु, नारालगायत लेकमा बाक्लो हिउँ जमेर बाटो नै बन्द हुने गरेकाले ताक्लाकोट गएकाहरू त्यसअघि नै फर्किने गरेको रावलको भनाइ छ । फागुनदेखि मंसिरसम्म ताक्लाकोट जाने उपयुक्त समय मानिन्छ । ‘त्यहाँ ३ महिना काम गर्दा पनि एक जनाले कम्तीमा ४ लाख रुपैयाँ कमाउँछन्, त्यसले घर खर्च चलाउन सजिलो हुन्छ,’ उनले भने, ‘काम पनि सजिलै पाइने र कमाइ पनि राम्रो हुने भएकाले यहाँका युवाले ताक्लाकोटलाई नै भरपर्दो गन्तव्य मान्छन् ।’
रोजगारी र उत्पादनको अभावका कारण नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका बासिन्दाको रोजगारीको प्रमुख गन्तव्य ताक्लाकोट हुने गरेको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले जनाए । नाम्खामा अत्यधिक चिसो ठाउँ र सिँचाइ सुविधा नहुँदा गाउँमा वर्षभरिको एक बाली उवा मात्र उत्पादन हुन्छ । ‘यहाँ त ३ महिना खान पुग्ने परिवार धनी वर्गमै गनिन्छ, धेरैजसो स्थानीयको आयआर्जनको मुख्य माध्यम पशुपालन र जडीबुटी संकलन हो,’ उनले भने, ‘त्यसले पनि जीविकोपार्जनमा समस्या भएपछि धेरैले ताक्लाकोटको मजदुरीलाई नै जीविकोपार्जनको आधार बनाएका छन् ।’
ताक्लाकोट जानेहरूका कारण चीन सीमास्थित हिल्सा नाकामा दैनिकजसो चहलपहल बढिरहेको नाम्खा–५ हिल्साका वडाध्यक्ष पाल्जोर लामाले बताए । नाकाबाट दिनहुँ ५० जनासम्म स्थानीय चीन गइरहेका छन् भने पर्यटक पनि आउजाउ गर्न थालेपछि होटल व्यवसाय फस्टाएको छ । ‘अहिले चिनियाँ मार्गबाटै खाद्यान्न र दैनिक उपभोग्य सामान हुम्लातिर आउन थालेको छ,’ उनले भने, ‘कोरोनाका कारण ठप्प भएको पर्यटन व्यवसाय पनि तंग्रिन थालेको छ ।’
हिल्सामा झन्डै ३५ वटा पर्यटकीय होटल छन् । चहलपहल बढेपछि अहिले सदरमुकाम सिमकोटबाट चिनियाँ सीमा हिल्सासम्म नियमित यातायातका साधन पनि सञ्चालन भइरहेको लामाले जनाए । कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीले पनि सीमामा चहलपहल बढेको उनको भनाइ छ । दिनको १ सय ५० देखि ३ सय जनासम्म भारतीय पर्यटक कैलाश मानसरोवर गइरहेको उनले बताए ।
