विद्यालय शिक्षा विधेयक पास गरेपछि मात्रै बैठक टुंगिन्छ : सभापति थापा

आज प्रतिनिधिसभा बैठक १ बजे डाकिएको छ । तर, बैठक नै छाडेर विधेयकका बाँकी विषय आजै टुंग्याउने सांसदहरुको भनाइ छ ।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

The meeting will end only after passing the school education bill: Speaker Thapa

काठमाडौँ — विद्यालय शिक्षा विधेयक-२०८० पारित गर्न आज बिहानदेखि सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले पनि जारी छ । 

समितिबाट विधेयक पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेको समितिका सभापति अम्मरबहादुर थापाले बताए । आज प्रतिनिधिसभा बैठक १ बजे डाकिएको छ । तर, बैठक नै छाडेर विधेयकका बाँकी विषय आजै टुंग्याउने सांसदहरुको भनाइ छ । 'समितिले विधेयक पास गरेपछि मात्रै बैठक टुंगिन्छ,' सभापति थापाले भने ।

सांसदहरुका अनुसार विधेयकमा लगभग सबै विषयमा सहमति जुटेको छ । निजी विद्यालयले दिने पूर्ण छात्रवृत्तिअन्तर्गत आवासीय सुविधा कस्तो हुने भन्नेमा केही विषयमा सहमति हुन बाँकी छ । सांसदहरुले टुंगिएका विषयमा भाषा र प्राविधिक कुरा सुधार्न सुझाव दिइरहेका छन् ।

यता, विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकका चारवटा संस्थाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन सुरु गरेका छन् । निजी विद्यालयहरू क्रमशः गैरनाफामूलक बनाइने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सञ्चालकहरूले विमति जनाउँदै आएका छन् ।प्याब्सन, नेसनल प्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकबाट उक्त दुई व्यवस्था हटाउन माग राख्दै बिहीबारदेखि प्रदर्शन थालेका हुन्। 

कान्तिपुर

Link copied successfully