पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गरी कारबाही र निलम्बन गरियोस् : केसी 

'प्रतिवेदन सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यान्वयनको लागि पठाइयो तर दुवै निकायको मौनता र प्रतिवेदन कार्यान्वयन नहुनु दुःखद् र खेदजनक छ । यसले संसदीय समितिको मर्यादामाथि प्रश्न उठाएको छ भने भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशंकाको पुष्टि गरेको छ' - अर्जुननरसिंह केसी

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

The corruption in the construction of Pokhara Airport should be investigated and action taken and suspended: KC

What you should know

काठमाडौँ — कांग्रेस सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गरी संलग्नलाई निलम्बन र कारबाही गर्नका लागि सरकारसँग माग गरेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन नगरी संलग्नलाई जोगाइएको हो कि भन्ने आशंका पुष्टि हुन लागेको बताए । 

सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारका सम्बन्धमा तयार पारेको प्रतिवेदन कार्यान्वयन नगर्दा भ्रष्टाचारीको संरक्षणमा सरकारकै संलग्नता आशंका पुष्टि भएको आरोप केसीले लगाए । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद केसीले लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक निर्णय भएको बताए । त्यसलाई बेवास्ता गर्नु संसदीय समितिको मर्यादामाथि प्रश्न उठाउने काम हुने पनि उनको भनाइ थियो । 

समितिको प्रतिवेदनलाई नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रमाणविहीन र मनगढन्ते भनेर प्रतिवाद गरेको भन्दै केसीले सरकारको ध्यानाकर्षण गराएका थिए । ‘संसदीय समिति बेवारिसे भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक प्रतिवेदन हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले यसलाई प्रमाणबिहीन, हावादारी र मनगणन्ते भनेर प्रतिवाद गर्नुभएको छ,' केसीले भने, 'प्रतिवेदन सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यान्वयनको लागि पठाइयो तर दुवै निकायको मौनता र प्रतिवेदन कार्यान्वयन नहुनु दुःखद् र खेदजनक छ । यसले संसदीय समितिको मर्यादायमाथि प्रश्न उठाएको छ भने भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशंकाको पुष्टि गरेको छ ।'

लेखा समितिले महानिर्देशक अधिकारीलगायतका कर्मचारीलाई निलम्बन गरेर भ्रष्टाचारमा अनुसन्धान अगाडि बढाउन अख्तियारलाई निर्देशन दिएको थियो । केसीको माग छ, 'अख्तियारले सत्यतथ्य छानबिन गरी यथार्थताको आधारमा कारबाही र निलम्बन प्रक्रिया सुरु गरोस् ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्सनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्म अर्बौं रुपैयाँ भ्रष्टाचार भएको संसदीय समितिको छानबिन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका आधारमा अनुसन्धान गर्न अख्तियारलाई सिफारिस तथा निर्देशन दिइएको थियो तर अख्तियारले भने प्रक्रिया अगाडि बढाएको छैन ।

महानिर्देशक अधिकारीले लेखा समितिको प्रतिवेदनको सार्वजनिक रुपमा प्रतिवाद गरेपछि सांसद केसीले संसद्बाट सरकार र अख्तियारको ध्यानाकर्षण गराएका हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully