प्रदीप गिरिले बीपीको विरोध होइन, प्रश्न गर्नुहुन्थ्यो : शशांक कोइराला

गिरिले देखाएको बाटो अंगिकार गरेर हिँड्न सबैलाई आग्रह गर्दै कोइरालाले गिरिको उदाहरण प्रस्तुत गरे।

भाद्र ५, २०८२

विनय आजाद

Pradeep Giri was not opposing BP, he was questioning: Shashank Koirala

सिरहा — कांग्रेस नेता शशांक कोइरालाले स्वर्गीय नेता प्रदीप गिरि नेपालको गौरव भएको बताएका छन् । सिरहाको लहानमा आयोजित गिरिको तेस्रो स्मृति सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

गिरि ज्ञानको खानी भएको र यसै कारण उनलाई कांग्रेसको मात्र नभई सबैको साझा नेता बनाएको उनले बताए ।

गिरिले देखाएको बाटो अंगिकार गरेर हिँड्न उनले सबैलाई आग्रह पनि गरे । 'उहाँ ज्ञानको खानी हुनुहुन्थ्यो, त्यसैले उहाँ कांग्रेसबाट राजनीति गरे पनि सबैको साझा नेता बन्न पुग्नुभयो,' उनले भने, 'हामी सबैले उहाँले देखाएको बाटो हिँड्ने संकल्प गरौं ।'

गिरिले बीपीको विरोध नभई प्रश्न गर्ने काम गरेको कोइरालाले बताए । 'मलाई पहिला-पहिला उहाँले बीपीको विरोधको विरोध गर्नुहुन्छ जस्तो लाग्थ्यो,' उनले भने, 'तर, उहाँले प्रश्न गर्नुहुन्थ्यो, विरोध र प्रश्नमा फरक हुन्छ ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully