शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदले सुधारको आवश्यकता औँल्याउँदै शिक्षा विधेयकले भूमिका खेल्नुपर्ने बताइन्।
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेतले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसके पनि शिक्षाको स्थिति नाजुक रहेको बताइन् ।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले शिक्षाको क्षेत्रमा धेरै समस्या अझै विद्यमान रहेको बताइन् । उनले शिक्षा क्षेत्रमा धेरै सुधार गर्न जरुरी रहेको उल्लेख गर्दै शिक्षालाई अघि बढाउन शिक्षा विधेयकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । शिक्षा क्षेत्रको जग बलियो बनाएर अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याइन् ।
उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुँदा पनि शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्न सकेनौँ । शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए । जसको कारणले देशले आज जसरी अघि बढ्नुपर्ने हो, त्यसअनुसार अघि बढ्न सकेन । शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्त्वपूर्ण भूमिका निर्वाह गरोस् भन्ने हाम्रो चाहना हो । शिक्षा क्षेत्रमा जग बलियो खडा गर्नुपर्छ भनेर हामी लागेका छौँ ।’
सांसद बस्नेतले सार्वजनिक विद्यालयको सुधारका लागि राज्यबाट सेवा सुविधा र तलब खानेका सन्तानलाई सार्वजनिक विद्यालयमै भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने सुझाव दिइन् ।
