प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमै स्पष्ट लेखौँ : सांसद शर्मा

सांसद शर्माले प्रधानाध्यापकलाई उच्च सेवा सुविधा दिने प्रस्ताव गर्दा विधेयकमा लेख्नुपर्ने आवश्यकता औंल्याइन्।

भाद्र ५, २०८२

कान्तिपुर संवाददाता

Let's clearly write about the service facility of the principal in the bill: MP Sharma

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट रूपमा लेखिनुपर्ने बताएकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

बुधबार विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल भएको हो। उनले प्रधानाध्यापकको विषय प्रदेशमा राखेर छनोट गर्ने कुरा राम्रो भएको पनि बताइन्।

विधेयकमा नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरूको सबैभन्दा माथिल्लो तहका कर्मचारीले पाउने सेवा सुविधा सरहको सुविधा प्रधानाध्यापकले पाउने भनेर विधेयकमा उल्लेख गरिनुपर्ने बताइन्।

उनले भनिन्, ‘प्रधानाध्यापकको विषयलाई प्रदेशको डालोमा हामीले हाल्यौँ। प्रदेशबाट छनोट गर्ने, शिक्षक सेवा आयोगले परीक्षा लिएर शिक्षकहरूको उम्मेदवारको सूची तयार गर्ने, स्थानीय तहले वितरण गर्ने भन्ने कुरा ठीक छ। हुँदाहुँदै पनि प्रधानाध्यापकको थप सेवा सुविधा उल्लेख गर्न सकेनौँ। यसमा हामीले तोकेबमोजिम हुनेछ त भन्यौँ। तर तोकेबमोजिम हुनेछ भन्दा तीन सय, पाँच सय रुपैयाँ दिएर प्रधानाध्यापकलाई जसरी ब्युटिफुल बनाउन खोज्दछौँ, त्यो उद्देश्य हाम्रो पूर्ति हुँदैन। यति पैसा भनेर त विधेयकमा नलेखिएला तर पनि यो खालको सुविधा दिइनेछ भनेर लेख्न सकिन्छ। प्रधानाध्यापकमा रहुन्जेल नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरूको सबैभन्दा माथिल्लो तह कुन हो? त्यो तहको सेवा सुविधा दिइनेछ भन्ने विषय भए पनि कतै उल्लेख गर्नुपर्छ।’

सांसद शर्माले प्रधानाध्यापकलाई महासंघमा आबद्ध हुन नदिने कुरा राम्रो भएको पनि बताइन् ।

कान्तिपुर

Link copied successfully