कर्णालीका १० जिल्लामध्ये सर्पदंशको उपचार सुविधा सुर्खेतमा मात्रै छ। कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पाबाट स्थलमार्ग हुँदै सुर्खेत पुग्न कम्तीमा ८ घण्टादेखि २ दिनसम्म लाग्दा सर्पदंशका बिरामीको मृत्युको जोखिम उच्च छ।
What you should know
कालीकोट — खाँडाचक्र–५ कार्कीवाडाका २१ वर्षीय लोकेन्द्र कार्कीलाई लासीस्थित घरमा सुतिरहेका बेला गत २८ साउनमा बिहान ५ बजे सर्पले डस्यो । उनी आत्तिँदै चिच्चाए । आफन्तले थाहा पाएपछि लोकेन्द्र्रलाई बोकेर सवा एक घण्टाको उकालो छेका र कर्णाली राजमार्ग हुँदै ३ घण्टापछि जिल्ला अस्पताल मान्म पुर्याए । त्यतिन्जेल उनी बेहोस भइसकेका थिए ।
मान्ममा सर्पदंशको उपचार सुविधा थिएन । चिकित्सकले सुर्खेत रेफर गरे । एम्बुलेन्स खोजेर सुर्खेत लैजानेक्रममा बाटोमै लोकेन्द्रको मृत्यु भयो । ‘घरबाट अस्पताल पुर्याउनै ढिलो भइसकेको थियो,’ जिल्ला अस्पतालबाट रेफर गर्ने डा. शुभनारायण ठाकुरले भने, ‘घरको आर्थिक अवस्था कमजोर भएकाले आफन्तले हेलिकोप्टरको खर्च बेर्होन सकेनन्, एम्बुलेन्समा पठाइयो, बाटोमै मृत्यु भएछ ।’
लासीमै गत वर्ष खाँडाचक्र–५ ढाडगाउँका ३० वर्षीय मणिचन्द्र चौलागाईंलाई सर्पले डसेको थियो । तरकारी खेती गरेर परिवार पाल्ने चौलागाईंलाई करेसाबारीमा काम गर्ने क्रममा सर्पले डसेको पत्नी कल्पना चौलागाईंले बताइन् । मणिचन्द्रलाई पनि लोकन्द्रलाईझैं जिल्ला अस्पताल मान्म पुर्याइयो । मान्मबाट प्रदेश अस्पताल सुर्खेत रेफर गरेको ५ घण्टापछि कर्णाली राजमार्ग हुँदै सुर्खेत लैजाने क्रममा दैलेखको राकम पुग्दा चौलागाईंको मृत्यु भयो ।
अघिल्लो वर्ष शुभकालिका–६ हाउडीका २६ वर्षीय धनप्रसाद आचार्यलाई घाँस काट्दा सर्पले डस्यो । मान्म पुग्नै पैदल दिनभर लाग्ने हाउडीबाट बिरामी ल्याउन कठिन भएकाले हेलिकोप्टर मगाएर एक घण्टाभित्रै सुर्खेत पुर्याउँदा आचार्यको ज्यान बच्यो । हेलिकोप्टरको भाडा मात्र ५ लाख लागेको थियो । सुर्खेतमा १५ दिन आईसीयूमा राखेर उपचार गरेपछि उनी निको भए । त्यतिबेला शुभकालिका गाउँपालिकाले हेलिकोप्टरको भाडा तिर्ने भने पनि रकम नदिएको आचार्यले गुनासो पोखे ।
त्यस्तै, दुई वर्षअघि पचालझरना–१ सिकुकी ३५ वर्षीया केसरी खड्कालाई सर्पले डसेपछि सुरुमा झारफुक गर्न लाग्दा मान्म नपुग्दै मृत्यु भएको स्थानीय लक्ष्मी बोगटीले बताइन् । नजिकमा सर्पदंशका उपचारको सुविधा नहुँदा घाइतेको ज्यान जाने घटना बढिरहेको उनको भनाइ छ । जिल्ला अस्पतालमा समेत उपचार नहुने भएकाले सर्पले डस्दा कतिपयले गाउँमै झारफुक गर्दा ज्यान गुमाइरहेको मानव अधिकारकर्मी कालीबहादुर मल्लले बताए ।
पछिल्ला वर्ष हिमाली जिल्लामा पनि सर्पदंशका घटना हुन थालेको कालीकोट जिल्ला अस्पतालका एमडीजीपी डा. ठाकुरले बताए । ‘कालीकोटको नदी किनार क्षेत्रमा अत्यधिक गर्मी हुन्छ । गर्मी ठाउँमा सर्पदंशको समस्या छ । पहिले फाट्टफुट्ट देखिने सर्पदंशका घटना अचेल बढी देखिन थाले,’ उनले भने । कर्णालीका १० जिल्लामध्ये सर्पदंशको उपचार सुविधा सुर्खेतमा मात्र छ । भौगोलिक विकटताले माथिल्लो कर्णालीका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पाबाट स्थलमार्ग हुँदै सुर्खेत पुग्न कम्तीमा ८ घण्टादेखि २ दिनसम्म लाग्छ ।
हिमाली जिल्ला भए पनि कालीकोटलगायत कर्णालीका जिल्लाका खोच तथा बेंसीतिर गर्मी हुने क्षेत्रमा विषालु सर्प भेटिने गरेको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. भीष्मप्रसाद पोख्रेलले बताए । ‘अचेल त बर्खामा महिनैपिच्छे विषालु सर्पले टोकेका बिरामी आउँछन् । जिल्ला अस्पतालमा सर्प उपचार केन्द्र आवश्यक भइसकेको छ,’ उनले भने । सर्पदंश उपचार केन्द्रका लागि आईसीयू, भेन्टिलेटर सुविधासहित ‘एन्टिस्नेक भेनम’ आवश्यक पर्छ । जिल्ला अस्पतालले गत वर्षदेखि ‘एन्टिस्नेक भेनम’ माग गर्दै आए पनि सुनुवाइ नभएको उनले सुनाए ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतका अनुसार ५ वर्षयता सर्पले डसेका १० जनामध्ये ३ जनाको मृत्यु भएको छ । तर, अस्पतालले रेफर गरेर ज्यान गुमाएका सर्पदंशका बिरामीको तथ्यांक नभएको उनले बताए । सर्पदंश उपचार केन्द्र स्थापनासम्बन्धी मापदण्ड ०७७ अनुसार सर्पदंशको उपचारका लागि डाक्टर रुम, नर्सिङ स्टेसन, बिरामी बेडलगायतका भौतिक संरचना, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, आईसीयू, रेफ्रिजेरेटर, प्यासेन्ट मोनिटरलगायत उपकरण, मेडिकल अफिसर १ सहित ७ जना जनशक्ति हुनुपर्ने उल्लेख छ ।
कालीकोट अस्पतालमा गत वर्ष भवन बनेपछि ठाउँको समस्या नभएको सूचना अधिकारी महतले बताए । सर्पदंशका बिरामीका लागि सरकारले हेलिकोप्टर सेवा निःशुल्क गर्नुपर्ने उनको भनाइ छ । ‘आमा सुरक्षा कार्यक्रमजस्तै हवाई उद्धारको सुविधा भए सर्पले सर्पदंशका सबैजसो बिरामी बचाउन सकिन्छ,’ उनले भने, ‘जिल्लाभित्रै सर्पदंश उपचार केन्द्र स्थापना गर्न सके पनि झनै सहज हुन्छ ।’
हिमाली जिल्लामा सर्पले डसेका घटना कमै हुने तथा पूर्वाधार, उपकरण र जनशक्ति अभावलगायत कारण सुर्खेतस्थित प्रादेशिक अस्पतालबाहिर सर्पदंश उपचार केन्द्र बिस्तार हुन नसकेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले बताए । केही जिल्लाबाट ‘एन्टिस्नेक भेनम’ माग आएकाले विश्लेषण गरेर उपलब्ध गराउने तयारी रहेको उनले बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा कर्णालीभरि सर्पदंशको उपचारका लागि ८ सय १ जना अस्पताल आएका छन् । आर्थिक वर्ष २०७९/८० मा कर्णालीका १० वटै जिल्लामा २ सय ८ जना, २०८०/८१ मा २ सय ६९ र २०८१/८२ मा ३ सय २४ जना सर्पले डसेपछि स्वास्थ्य संस्था आएका छन् ।
यो अवधिमा ६ सय १४ जना कम विषालु सर्पले टोकेका र १ सय ८७ जना बढी विषालु सर्पले डसेका बिरामी अस्पताल भर्ना भएको प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अफिसर एवं फोकल पर्सन श्याम आचार्यले जानकारी दिए ।
अस्पताल ल्याउने क्रममा बाटोमा सर्पदंशका बिरामीको मृत्यु भएको खबर सुनिए पनि सरकारी तथ्यांकमा समेट्न नसकिएको उनले जानकारी दिए । पछिल्ला तीन आर्थिक वर्षमा कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिममा र डोल्पामा सबैभन्दा कम सर्पदंशका घटना भएका छन् ।
तराईको तुलनामा पहाड र हिमालमा विषालु सर्प कम भेटिने सर्प तथा कछुवा विशेषज्ञ करनबहादुर शाह बताउँछन् । उनका अनुसार तराईमा पाइने सबै विषालु प्रजातिका सर्प पहाड र हिमालमा नभेटिए पनि कालीकोट, जाजरकोट, दैलेखलगायत जिल्लामा राजगोमन, गोमन, दुई किसिमका करेत सर्प भेटिने गरेको छ । कामको सिलसिलामा कालीकोट, मुगु, जाजरकोट, दैलेखलगायत जिल्लामा बसेका ७२ वर्षीय शाह बताउँछन् । कालीकोटको लालीघाट, सेरीघाट, लाली, भात्तडी, दैलेखको राकम, ढुंगेश्वर पाल्ताडा, जाजरकोटको भेरी आसपासको क्षेत्रमा गोमन र करेत सर्प भेटिने गरेको शाहको दाबी छ ।
सर्पले डसेपछि रक्तसञ्चार नै रोकिने गरी डोरीले बाँध्ने, ढिलो अस्पताल लैजाने गर्दा मृत्युको जोखिम बढी हुन्छ । सर्पको डसाइ र रोकथामका उपायबारे समुदायस्तरमा चेतना फैलाउन सके मृत्युको जोखिम घटाउन सकिने शाहको सुझाव छ । ‘हिमाली भेगमा भेटिने सर्पले डस्दा मृत्युको सम्भावना न्यून हुन्छ,’ उनले भने । सर्पले डसेपछि आत्तिएर कतिपयलाई हृदयाघात हुने गरेको शाहले सुनाए ।
