गोरखामा रिनजिन लामा खोजीमा गएका छिसे दोर्जेको भिरबाट खस्दा ज्यान गयो, दुवैको शव निकाल्ने काम जारी रहेको छ।
गोरखा — भिरबाट लडेर मृत भेटिएका एक व्यक्तिको शव निकाल्न जाँदा लडेर अर्को एक जनाले पनि ज्यान गुमाएका छन् । भदौ २ गते साँझदेखि बेपत्ता बनेका चुमनुव्री–६ चुम्चेत सिप्चेतका करिब ४२ वर्षीय रिनजिन लामा बिहीबार बिहान गोरेटोबाट करिब १५० मिटर तल भिरमा मृत अवस्थामा भेटिएका थिए ।
उनलाई खोज्न गएको टोलीका ४१ वर्षीय छिसे दोर्जेले पनि चिप्लिएर भिरबाट खस्दा घटनास्थलमै ज्यान गुमाएको हो ।
दुवैको शव भिरमै अड्किएको अवस्थामा रहेको र निकाल्ने काम जारी रहेको प्रहरीले जनाएको छ । डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार दुई शव करिब २०–२२ मिटरको दूरीमा छन् । शवको मुचुल्कालगायतका कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सरोज कार्की नेतृत्वको टोली खटाइएको छ ।
रिनजिन लामा भदौ २ गते बेलुकी करिब ७ बजे विजुलीको बिल तिरेर घर फर्किने क्रममा बाटोमा हराएका थिए । उनको खोजी स्थानीयहरूले सोमबार रातिदेखि नै सुरु गरेका थिए। बिहीबार बिहान चुम्चेतस्थित पातछुङछुमको गोरेटोबाट तल खोजी गर्ने क्रममा उनको शव भेटिएको थियो।
छिसे दोर्जे पनि सोही खोजी टोलीका सदस्य थिए। रिनजिनको शव देखेपछि आफन्तलाई खबर गर्न जाँदै गर्दा उनी पनि चिप्लिएर करिब १५० मिटर तल खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल गोरखा सदरमुकामबाट दुई दिनको यात्रा पछि पुगिन्छ भने प्रहरी चौकी चुम्चेतबाट करिब तीन घण्टा उत्तरतर्फ पैदल हिँड्नुपर्छ ।
