एनएसीका दुवै न्यारोबडी जहाज ग्राउन्डेड : बुधबार राति साउदी र काठमाडौँमा २ सय १० यात्रु अलपत्र

न्यारोबडी एकसाथ ग्राउन्डेड हुँदा निगमले गर्ने छोटो दूरीका क्षेत्रीय उडान बिहीबार बिहानैदेखि प्रभावित हुन थालेका छन्। दुवै न्यारोबडी एयरबस जहाज बिग्रिएपछि उडान तालिकामा असर परेको छ।

भाद्र ५, २०८२

सुरज कुँवर

Both narrow body ships of NAC grounded: 210 passengers stranded in Saudi Arabia and Kathmandu on Wednesday night

What you should know

काठमाडौँ — नेपाल वायुसेवा निगम (एनएसी) का दुवै न्यारोबडी विमान एकपछि अर्को ग्राउन्डेड हुँदा बुधबार राति साउदी अरब र काठमाडौँमा २ सय १० यात्रु अलपत्र परेका छन्। न्यारोबडी एकसाथ ग्राउन्डेड हुँदा निगमले गर्ने छोटो दूरीका क्षेत्रीय उडान बिहीबार बिहानैदेखि प्रभावित हुन थालेका छन्। दुवै न्यारोबडी एयरबस जहाज बिग्रिएपछि उडान तालिकामा असर परेको छ।

बिहीबारपछि सयौँ यात्रु अलपत्र पर्ने निश्चित भएको निगमको न्यारोबडीका एक क्याप्टेनले बताए। निगमको मेन्टेनेन्स कन्ट्रोल सेन्टरद्वारा जारी आन्तरिक सर्कुलर अनुसार, सगरमाथा नामको न्यारोबडी बुधबार राति साउदीको दमाम उड्ने तयारीमा थियो। तर ‘एंगल अफ अट्याक’ सेन्सरमा समस्या देखिएपछि निगमका इन्जिनियरहरूले उडाउन नमिल्ने भनी काठमाडौँमा ग्राउन्डेड गरेका थिए।

बुधबार राति दमाम जानुपर्ने १३३ यात्रुलाई निगमकै खर्चमा गौशाला आसपासका होटलमा राखिएको छ। सोही क्रममा दमामबाट नेपाल आउनुपर्ने ७७ यात्रु पनि साउदी अरबमै रोकिएका छन्। इजरायली कम्पनीको भाडाको इन्जिन राखेर निगमले उडाइरहेको अर्को लुम्बिनी नामको न्यारोबडी साउन यता उडानमा छैन।

उक्त विमानको इन्जिनभित्र हुने गियरबक्समा समस्या देखिएपछि साउन २० पछि व्यावसायिक उडानमा आउन नसकेको निगमका एक उपनिर्देशकले बताए। १५८ सिट क्षमताका दुवै न्यारोबडी जहाज एकै पटक ग्राउन्ड हुँदा निगमले यात्रुहरूको दबाब र प्रतिष्ठा जोगाउन २७४ सिट क्षमताका लामो दूरीमा उड्नुपर्ने दुई वाइडबडी एयरबस परिचालन गर्नुपर्छ।

आर्थिक दृष्टिले छोटो दूरीमा वाइडबडी उडाउँदा निगमलाई नाफा हुँदैन। अहिले निगमलाई विशेष गरी खाडी मुलुक र छोटो दूरीका गन्तव्यतर्फका उडान व्यवस्थापन गर्न चुनौती आइपरेको हो। दुवै जहाज ग्राउन्ड हुँदा निगमले सञ्चालन गर्ने हङकङ, मलेसिया, मुम्बई, बेंगलुरु, दिल्ली, दुबई, दोहा र जापानका उडानहरू प्रभावित हुने छन्।

निगमको विदेशस्थित एक स्टेसनका कर्मचारीले भने, ‘निगमका दुवै न्यारोबडी जहाज बिग्रिएका छन्। हामी विदेशको स्टेसनमा बस्ने स्टेसन प्रमुख तथा कर्मचारी मूकदर्शक लाचार भएर बस्नु परेको छ। भाडाको इन्जिनको बक्यौता, अपरिपक्व सम्झौता पत्रले हाम्रो आफ्नै इन्जिन इजरायलमा थन्क्याइएको छ। निगमको विषयमा न पर्यटन मन्त्रीले सुनेका छन्, न त सरकारले सुनेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए पनि त्यो संस्थाले चासो दिएको छैन।’

निगमका एक इन्जिनियरले बिग्रिएका जहाजका पार्टपुर्जा नहुने, आउने निश्चितता नहुँदा कहिले बन्ने अनिश्चित भएको बताए। उनका अनुसार, जहाज मर्मतप्रति निगमको गम्भीर लापरबाही भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई 'एकाउन्टेबल म्यानेजर' बर्खास्त गरेको छ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले दुवै जहाज केही दिनमा उड्ने जानकारी दिएका छन्। ‘जहाजमा केही समस्याहरू आएका छन्। ट्रेसआउट हुँदै छ। भोलि सम्ममा दुवै जहाज उड्लान,’ कार्यकारी अध्यक्ष अधिकारीले भने, ‘जहाज हो, बिग्रिहाल्छ। बिग्रेको जहाज उडाए, पड्किँदैन। निगमको मूल समस्या जहाजको कमी हो। अर्को ऋणको महँगो ब्याज हो।’

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully