सहयोग जुटेपछि धौली भुलले गिट्टी कुट्न छोडिन् 

उद्यमी चन्दन अग्रवाल र साङ्ग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत लक्ष्मण कार्कीको सहकार्यमा धौलीको उपचारका लागि ७१ हजार रुपैयाँ सहयोग जुटेको छ।

भाद्र ५, २०८२

मोहन चन्द

After getting help, Dhauli Bhul stopped pounding the gravel

What you should know

बैतडी — बैतडीकी ७३ वर्षीया धौली भुललाई अस्पताल जाने आर्थिक सहयोग जुटेपछि अहिले उनले गिट्टी कुट्ने काम छोडेकी छन् । वृद्धाले गिट्टी कुटेर बिक्री गरेबापतको रकम ठेकेदारले समयमा उपलब्ध नगराएकाले आफ्नो र बिरामी छोराको उपचार गर्न नसकेको खबर कान्तिपुरको ‘घर खर्च’ स्तम्भमा साउन १४ गते प्रकाशित भएको थियो।

यही खबर पढेपछि उनको उपचार र रासन खरिदका लागि चितवन नारायणगढका उद्यमी चन्दन अग्रवाल र काठमाडौंस्थित साङ्ग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत लक्ष्मण कार्कीको पहलमा आर्थिक सहयोग जुटेको हो।

उद्यमी अग्रवालले २१ हजार रुपैयाँ नगद सहयोग गरेका छन् भने कार्कीको पहलमा विभिन्न पेशामा आवद्ध व्यक्तिहरूले ५० हजार रुपैयाँ धौलीको खातामा जम्मा गरिदिएका छन्। 'धौली दिदी र उनका छोराको उपचारमा सानो भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले साथीहरूसँग सरसल्लाह गरी रकम जम्मा गरिदियौं,' कार्कीले बताए ।

आर्थिक सहयोगबाट उनले छोरोलाई र आफूलाई औषधि किनेको र सेवन गरिरहेको धौली भुलले बताइन् । 'औषधिले छोरालाई सन्चो लागेको छ, तर अझै काम गर्न सक्दैन। मलाई पनि पहिलेको भन्दा अहिले औषधिले राहत मिलेको छ। केही दिनपछि धनगढी उपचारका लागि जान्छु,' उनले भनिन्।

समाचारमा आएको विषयले अप्रत्याशित सहयोग जुटेकाले आफूले उपचार गराउन सकेको भुलले बताइन्। अहिले उनी औषधि सेवन गरी घरमै आराम गरिरहेकी छन् । आर्थिक सहयोग गर्नेहरूदेखि लिएर समाचार प्रकाशित गर्ने पत्रिकासम्म सबैलाई धौलीले धन्यवाद दिएकी छन्।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully