दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते, ४ को अवस्था गम्भीर

गाडी चिप्लो बाटोमा ब्रेक नलाग्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

भाद्र ५, २०८२

मनोज बडू

11 injured, 4 critically injured in jeep accident in Darchula

दार्चुला — दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

बिहीबार बिहान दार्चुलाको नौगाड गाउँपालिका–४ होपरीबाट होपरीगाडतर्फ गइरहेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप दुर्घटनामा परेको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए । रावतका अनुसार जिपमा सवार ११ जनामध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइतेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीया उमेश ठगुन्ना रहेका छन् । उनीहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । 

गाडी चिप्लो बाटोमा ब्रेक नलाग्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । जिप लोकेन्द्र सिंह ठगुन्नाले चलाएका थिए ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully