संस्कृतको महत्त्व बुझेपछि विदेशी विद्यार्थीहरू नेपालमा संस्कृत र पूर्वीय दर्शन पढ्न आकर्षित भएका छन्।
What you should know
काठमाडौँ — पछिल्लो समय नेपालमा मात्र होइन, विश्वभर नै पूर्वीय दर्शनमा रुचि बढ्दो छ । विश्वका अधिकांश विश्वविद्यालयमापूर्वीय दर्शन पढाइने मात्र होइन, त्यसका लागि लामो समयदेखि विभाग नै समेत चलिरहेका छन् ।
नेपालबाट संस्कृतसम्बन्धी अध्ययनका लागि विदेशी विश्वविद्यालय जानेको संख्या पनि बढिरहेको छ । त्यस्तै संस्कृत र नेपाली संस्कृति तथा इतिहास पढ्नका लागि नेपाल आउने विदेशी विद्यार्थी पनि बढिरहेका छन् ।
वाल्मीकि विद्यापीठमा (क्याम्पस) मा पनि संस्कृत अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढ्दै गएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको यस विद्यापीठमा हाल विदेशी विद्यार्थीको संख्या ६२ रहेको छ । जसमध्ये दुई जनाले पीएचडी (विद्यावारिधि) गरिरहेका छन् भने ६० जनाले संस्कृत भाषा अध्ययन गरिरहेका छन् । उनीहरूले १ वर्षे ‘संस्कृत फर फरेनर्स’ कोर्स गरिरहेका छन् ।
क्याम्पसका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वाल्मीकि क्याम्पसमा संस्कृत अध्ययन गर्न ६२ जना विदेशी विद्यार्थी भर्ना भएका थिए । नयाँ भर्ना हुनेको संख्या तुलनात्मक रूपमा देशका अन्य संस्कृत विद्यालयको भन्दा बढेको क्याम्पसले जनाएको छ ।
वाल्मीकि क्याम्पसका सह–प्राध्यापक प्रेम न्यौपानेका अनुसार विदेशी विद्यार्थीहरू भाषा, संस्कृत दर्शन, बौद्ध दर्शनजस्ता विषय पढ्न नेपाल आउने गरेका छन् । ‘विदेशबाट नेपाल पढ्न आउने विद्यार्थीका लागि ‘संस्कृत फर फरेनर्स’ भन्ने कोर्स छ । उक्त विषयमा २ वटा सेमेस्टर छन् । जसमा विद्यार्थीहरूले व्याकरण र भाषा विषय पढ्छन्,’ न्यौपानेले भने, ‘एक वर्षको कोर्स (भाषा) पास गरेपछि यदि विद्यार्थीले पहिले कुनै पनि विषयमा स्नातक गरेको छ भने स्नातकोत्तर नेपालका अन्य विश्वविद्यालयमा पनि गर्न मिल्छ । जसले प्राच्य धर्मदर्शनमा स्नातकोत्तर गर्छन्, उनीहरू संस्कृत, धर्मदर्शनलगायतका धर्मसँग जोडिएका जुनसुकै विषयमा पनि विद्यावारिधि गर्न पाउँछन् ।’
न्यौपानेका अनुसार नेपाल आएर सामान्य भाषा सिकेर जानेको संख्या झन् उल्लेख्य रहेको छ । क्याम्पसमा श्लोक, संस्कृत भाषाका बारेमा जान्न र संस्कार, परम्परा बुझ्नका लागि पनि विदेशी विद्यार्थी आउने गरेका छन् । विभिन्न मुलुकबाट नेपालप्रति रुचि देखाएर पढ्न आउनेहरूले ज्ञानलाई सबैभन्दा बढी महत्त्वपूर्ण ठानेर आएको न्यौपानेले सुनाए ।
अहिले वाल्मीकिमा अमेरिका, चीन, मेक्सिको, इटाली, स्पेन, श्रीलंका, ताइवान, अस्ट्रिया, भारतलगायतका विद्यार्थी छन् । ‘संस्कृत आफैंमा महत्त्वपूर्ण छँदैछ । उनीहरू संस्कृत महत्त्वपूर्ण रहेछ भन्ने बुझेर नै ज्ञान आर्जन गर्नका लागि नेपाल आएका हुन् । पाँच वर्षमा ३ सय जना विदेशी विद्यार्थीले संस्कृत भाषा अध्ययन गरिसकेका छन् । जसमध्ये केहीले आचार्य (एमए) पास गरेका र दुई जनाले यहीँ विद्यावारिधि (पीएचडी) गर्दैछन्,’ न्यौपानेले भने ।
संस्कृत अध्ययनमा पछिल्लो समय महिलाको संख्या पनि बढ्दै गइरहेको छ । पहिलाको तुलनामा संस्कृत विषय पढ्ने महिलाहरूको संख्या बढेको सह–प्राध्यापक रमा भट्टराई बताउँछिन् । ‘पहिला हामीले पढ्ने बेलामा दुई वा तीन जनाभन्दा बढी महिलाले संस्कृत पढेको देखिँदैन थियो तर अहिले संख्या बढेको छ,’ भट्टराई भन्छिन्, ‘संस्कृत भाषाको महत्त्व बुझेपछि नै बढी मानिस यसतर्फ आकर्षित भएका हुन् । नेपालमा पढ्न आउने विदेशी विद्यार्थीहरूमा पनि अहिलेको तथ्यांक हेर्ने हो भने महिलाको संख्या बढी छ ।’
भट्टराईका अनुसार संस्कृतले समाजमा शान्ति ल्याउन, व्यक्तिलाई अनुशासित बनाउन साथै मर्यादामा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछिन् । ‘संस्कृत पढ्ने नेपाली विद्यार्थीमा पनि विभिन्न क्षेत्रमा आबद्ध रहेर काम गरिरहेका धेरै जसो अवकाशप्राप्त भएका कर्मचारीहरूको संख्या धेरै बढेको छ,’ उनले भनिन् ।
काठमाडौंमा मात्र होइन मुलुकका अन्य संस्कृत विद्यापीठमा समेत विद्यार्थीको संख्या बढिरहेको छ । पोखरामा रहेको श्री विन्दुवासिनी संस्कृत विद्यापीठ का उप–प्राध्यापक राजेश घिमिरेका अनुसार सबैलाई सहज हुने गरी संस्कृत भाषा पठनपाठन भएमा हरेकको भविष्य उज्ज्वल हुने बताउँछन् । उनी भन्छन्, ‘संस्कृत भाषा पढ्नको लागि हरेक ठाउँका गुरुकुल, विश्वविद्यालयमा नेपाली साथै विदेशीलाई सहज हुने गरी सञ्चालन गर्न सकिएमा हरेक व्यक्तिको साथै समाजको सकारात्मक परिवर्तन हुन्थ्यो ।’
घिमिरेले संस्कृत भाषा आफैंमा वैज्ञानिक भाषा भएकाले पनि अहिलेको समयमा यसतर्फ सबैको चासो बढेको सुनाए । संस्कृत भाषाको ज्ञानबिना समाजको परम्परा र संस्कार बुझ्न सकिने उनी बताउँछन् । यसलाई बचाउन जरुरी देखेर पनि अहिलेको समयमा धेरैले संस्कृत भाषालाई रोज्ने गरेका छन् । ‘संस्कृतमा के छ भन्नुभन्दा पनि के छैन ? भनेर प्रश्न गर्न आवश्यक रहेको उनको तर्क छ । यो विषय अध्ययन गरेपछि सबै कुराको ज्ञान हुन्छ भन्ने बुझेर नै पछिल्लो समय यसतर्फ नेपालीलगायतका विदेशी विद्यार्थीको चासो देखाएको उनको भनाइ छ । उनले सरकारले संस्कृत विषयलाई नियमित पठनपाठनमा समावेश गर्न सकेमा संस्कृत विषयप्रतिको रुचि बढ्दै जाने बताए ।
संस्कृतभित्र पनि विभिन्न विषयहरू हुने तर पनि संस्कृत विषय भन्नेबित्तिकै मानिसहरूले कर्मकाण्डसँग मात्र जोड्ने गरेको प्राध्यापकहरू बताउँछन् । तर संस्कृतमा १९–२० वटा विषयहरू पढाइ हुने गर्दछ, जसमा व्याकरण, साहित्य, न्याय, सिद्धान्त ज्योतिष, बौद्ध दर्शन, सर्वदर्शन, धर्मशास्त्र, वेदान्त दर्शनजस्ता विविध विषयहरू पर्ने उनीहरू बताउँछन् ।
जर्मनीको हाइडलबर्ग विश्वविद्यालयमा ‘क्लासिकल इन्डोलोजी’ (पुराविद्या) मा स्नातकोत्तर अध्ययनरत प्रदीप घिमिरे नेपालमा अनुसन्धानात्मक क्षेत्र भने विदेशको तुलनामा निकै तल रहेको बताउँछन् । वाल्मीकि विद्यापीठबाट सिद्धान्त ज्योतिषमा स्नातकोत्तर गरेर थप अध्ययनका लागि जर्मनी गएका उनी भन्छन्, ‘नेपालमा विदेशी विद्यार्थीहरू भाषा, संस्कृति बुझ्नका लागि जाने गर्छन् । तर नेपालबाट भने रिसर्च गर्नका लागि नै विदेश आउने गरेका छन् जस्तो लाग्छ । किनभने नेपालमा अनुसन्धानको पाटो विदेशको तुलनामा कमजोर नै देखिन्छ ।’
अध्ययन र स्रोतसाधनका हिसाबले अगाडि भएकाले नेपालमा अनुसन्धान क्षेत्रलाई सुदृढ बनाउन सके स्वदेशी मात्र नभई विदेशी विद्यार्थी पनि तान्न सकिने उनको भनाइ छ । हाइडलबर्ग सन् १३८६ मा स्थापना भएको जर्मनीको सबैभन्दा पुरानो विश्वविद्यालय हो । विश्वविद्यालयमा दक्षिण एसियाली अध्ययन संस्थान (साउथ एसिया इन्स्टिच्युट) नै रहेको छ । यही विभागमा लामो समय अध्यापन गरेका प्राध्यापक आक्सेल मिखायेल्स त पूर्वआधुनिककालीन नेपालको धार्मिक तथा कानुनी दस्ताबेजको अध्ययन तथा अनुसन्धान र त्यस्ता अभिलेखलाई डिजिटलाइज गर्न ‘डकुमेन्टा नेपालिका’ परियोजना चलाइरहेका छन् ।
वाल्मीकि विद्यापीठबाट अध्ययन गरिरहेका र अध्ययन सकेर बसेका विद्यार्थीहरू पनि संस्कृत अध्ययनलाई बलियो बनाउन सरकारले ध्यान दिनुपर्ने बताउँछन् । स्नातक चौथो वर्षको परीक्षा दिएर बसेका नवीन उपाध्याय विश्वविद्यालयमा पर्याप्त स्रोतसाधन भएमा, पुस्तकालयको उपयुक्त व्यवस्था गर्न सके नेपाली साथै विदेशी विद्यार्थीलाई आकर्षण गर्न सकिने बताउँछन् ।
उनी भन्छन्, ‘पुस्तकालयको राम्रो व्यवस्था, शैक्षिक क्यालेन्डरअनुसार पढाइ हुने, प्रविधिको विकाससँगै संस्कृत विषयमा पनि प्रविधिको माध्यमबाट सिकाइ हुने व्यवस्था भएमा संस्कृत विश्वविद्यालयको स्तर बढ्ने र विदेशी विद्यार्थीलाई पनि अझ धेरै आकर्षण गर्न सकिन्थ्यो ।’
विज्ञान र प्रविधिको विकासले फड्को मार्दा पनि संस्कृत विषयमा यसको प्रयोग अझै नहुनु चिन्ताको विषय भएको उनको भनाइ छ । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा रहेको वाल्मीकिमा मात्र अहिले विभिन्न तहमा गरी १ हजार ४ सय ६४ विद्यार्थी विभिन्न विषयमा अध्ययन गरिरहेको क्याम्पसले जनाएको छ । जसमा प्राक् शास्त्री, शास्त्री, आचार्य, विद्यावारिधि र संस्कृत फर फरेनर्स पढ्नेहरू छन् ।
जंगबहादुर राणाले वि.सं. १९३९ सालमा राजराजेश्वरी पाठशाला स्थापना गरेपछि सोही पाठशाला वि.सं. १९४२ सालमा रानीपोखरी पाठशालामा रूपान्तर भएपछि काठमाडौं उपत्यकामा संस्कृत भाषाको पठनपाठन सुरु भएको थियो ।
२०२४ सालमा वाल्मीकि संस्कृत महाविद्यालय र २०३० सालपछि वाल्मीकि विद्यापीठका नाममा रूपान्तरित भएको थियो । २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा स्थापित भएको हो ।
