जलाधार क्षेत्रमा पर्याप्त पानी नपर्दा कुलेखानी जलाशयको सतह बढेन

मनसुन सुरु भएदेखि मंगलबार अपराह्नसम्म कुलेखानी जलाशयमा ९ मिटर मात्र पानीको सतह बढेको छ, जसले विद्युत् उत्पादनमा समस्या निम्त्याउने संकेत देखाएको छ।

भाद्र ४, २०८२

प्रताप विष्ट

The water level of Kulekhani reservoir did not rise due to lack of sufficient water in the catchment area

What you should know

हेटौंडा — साउन महिना बितिसक्दा पनि जलाधार क्षेत्रमा वर्षा नभएका कारण यसपाली कुलेखानी जलाशयमा पानीको सतह बढ्न सकेको छैन ।

मनसुन सुरु भएदेखि मंगलबार अपराह्नसम्म कुलेखानी जलाशयमा केवल ९ मिटर मात्र पानीको सतह बढेको छ । सुक्खायाममा कुलेखानी जलाशयको पानीको सतह १४८५ मिटरसम्म झरेको थियो । वर्षायाम सुरु भएपछि कुलेखानी जलाशयमा बुधबार अपराह्नसम्म १४९४.५६ मिटर मात्र पानी संकलन भएको छ । गत वर्षको भदौ ४ गते कुलेखानी जलाशयको सतह १५१६.४७ मिटर पुगेको थियो ।

‘अहिलेको वर्षायाममा जलाधार क्षेत्रमा पानी नै परेको छैन,’ कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले भने, ‘साउन महिना बितिसक्यो, मौसमको छाँटकाँट हेर्दा यो वर्ष कुलेखानी जलाशय भरिन मुस्किलै छ ।’

कुलेखानी जलविद्युत् आयोजनाका अनुसार गत वर्ष साउन–भदौमा जलाशयमा दैनिक ५० देखि ७५ सेन्टिमिटरसम्म पानीको सतह बढ्थ्यो, अहिले मुस्किलले २० सेन्टिमिटर पनि बढ्दैन । हाल कुलेखानी जलविद्युत् आयोजना भोल्टेज व्यवस्थापनका लागि मात्र कहिले काहीँ सञ्चालन गरिएको छ ।

कुलेखानी जलाशयमा पानीको सतह नबढेकाले सुक्खायाममा विद्युत् उत्पादनमा समस्या मात्र होइन, मार्खु र चित्लाङमा आएका आन्तरिक एवं बाह्य पर्यटकहरू पनि निराश भएर फर्किने गरेका छन् । कुलेखानी जलाशयको पानीले ढाक्ने मार्खु र सिम्लाङ क्षेत्रका जमिनमा हाल चौपायाहरू चरिरहेका छन् । विगतका वर्षमा पर्यटक त्यही स्थानमा रमाइलो गरेर मजा लिने गर्थे ।

'गत वर्षको असोज १० देखि १२ गतेसम्म जलाधार क्षेत्रमा परेको वर्षाले मात्र कुलेखानी जलाशय भरिएको थियो । त्यस्तो वर्षा नभए अहिले परेको पानीले जलाशय भरिँदैन,' कुलेखानी जलविद्युत् आयोजनाका एक वरिष्ठ प्राविधिकले भने । गत वर्षको असोज १०–१२ गते परेको पानीले जलाशय एक्कासि भरिएर कुलेखानीको ढोका खोल्दा तल्लो तटीय क्षेत्र सिस्नेरीको सडक, पुल र बस्तीमा क्षति पुगेको थियो ।

The water level of Kulekhani reservoir did not rise due to lack of sufficient water in the catchment area

नेपाल विद्युत् प्राधिकरणको ‘ब्याक अप’को रूपमा रहेको कुलेखानी जलाशय भरिएन भने विद्युत् प्राधिकरणलाई सुक्खायाममा विद्युत् उत्पादन र वितरणमा समस्या हुनेछ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका, दामन, पालुङ, बज्रवाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । उक्त क्षेत्रमा अहिले वर्षा पर्याप्त भएको छैन ।

कुलेखानी जलाशयको पानी १४८४ मिटर तल झर्दासम्म प्रयोग गर्न सकिन्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ । कुलेखानी जलाशयमा संकलन गरिएको पानीबाट तीनै आयोजनाले विद्युत् उत्पादन गर्छन् । जलाशयको चौडाइ ३०० मिटर र लम्बाइ ७ किलोमिटर रहेको छ । कुलेखानी नेपालको ठूला योजनामध्ये एक जलविद्युत् उत्पादन गृह हो ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully