हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

हिमालय पाँडेले बुबाको नाममा हुलाक टिकट प्रकाशनलाई परिवारको राष्ट्रप्रतिको योगदानको मान्यता भने।

भाद्र ३, २०८२

रासस

Sardar Bhim Bahadur Pandey on postage stamp

What you should know

काठमाडौँ — हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाएका हुन् । 

मन्त्री गुरुङले विभागले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, 'हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्छ ।'

सरदार पाँडे देशभक्त काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तती हुन् । पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत थिए । प्रशासन, कूटनीतिक, लेखनलगायत समाजसेवामा पाँडेले गरेको योगदानको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन गरिएको मन्त्री गुरुङले बताए । यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई प्रेरणासमेत मिल्ने उनको भनाइ छ ।

विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञसँगै समाजमा लोपोन्मुख रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनका तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरी प्रचारप्रसार गर्न थालेको छ ।

कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्त र छोराछोरी सहभागी थिए । जसमा उनका माइला छोरा हिमालय पाँडेले बुबा भीमबहादुर पाँडेको नाममा हुलाक टिकट प्रकाशन गरिनुले राष्ट्रबाट पूरै परिवार नै सम्मानित भएको महसुस गरेको बताए । 

सञ्चार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, सङ्घर्ष र योगदानबाट आफू सधैँ प्रेरित रहेको बताइन् । विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले सरदार पाँडेजस्ता राष्ट्रसेवकको नामको हुलाक टिकट प्रकाशन गरिनु सिंगो मुलुकको ऐतिहासिक दस्तावेजको संरक्षण गरिनु रहेको बताइन् । 

रासस

Link copied successfully