डिम्बको अवैध कारोबार गर्ने सात जनाविरुद्ध मुद्दा चलाउन प्रहरी राय

प्रलोभनमा पारी किशोरीको डिम्ब निकालेको अभियोगमा दुई निःसन्तान उपचार केन्द्रका सञ्चालकहरुलाई प्रहरीले असार अन्तिम साता काठमाडौंबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Police opinion to file a case against seven people for illegal trade in eggs

What you should know

काठमाडौँ — किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालेको अभियोगमा होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालक स्वस्ति शर्मासहित सात जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले क्लिनिकका सञ्चालक खड्का र सोही क्लिनिकमा काम गर्ने कर्मचारीसहितलाई प्रतिवादी बनाएर मुद्दा चलाउने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

प्रलोभनमा पारी किशोरीको डिम्ब निकालेको अभियोगमा निःसन्तान उपचार केन्द्र सञ्चालक बबरमहलस्थित होप फर्टिलिटी र महाराजगञ्जस्थित एन्जल फर्टिलिटी क्लिनिकका स्वस्ति शर्मा, असीम अधिकारी र मलिनी चौधरीसहितलाई प्रहरीले असार अन्तिम साता काठमाडौंबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

आरोपितहरुविरुद्ध बालबालिका सम्बन्धित ऐन २०७५ अनुसार कसुर गरेकामा कैद र जरिवानाको मागदाबीसहित मुद्दा चलाउन राय दिइएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । डिम्ब निकालिएका किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो । अनुसन्धानका क्रममा दुई किशोरीलाई आर्थिक प्रलोभन दिएर होप फर्टिलिटीका सञ्चालक र कर्मचारी तथा एजेन्टको योजनामा डिम्ब निकालेको तथ्य खुलेको थियो । पीडित दुवै जना किशोरीहरुमा डिम्ब निकालिएपछि महिनावारी नहुने, पेट दुख्नेलगायत समस्या देखिएपछि सीआईबीले अनुसन्धान सुरु गरेकामा क्लिनिकका सञ्चालकसहित कर्मचारी र एजेन्टमार्फत डिम्बको अवैध कारोबार गर्ने गरेको खुलेको हो ।

त्यसपछि दुवै किशोरीको जाहेरीका आधारमा अघि बढेको अनुसन्धानमा ७ जनाको संलग्नता खुलेपछि उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सीआईबीले रायसहित प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालयले यसमा अध्ययन भइरहेको र छिट्टै कसुरअनुसार अभियोग पत्र अदालतमा पुर्‍याइने जनाएको छ ।

कान्तिपुर

Link copied successfully