बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

मन्त्रीस्तरीय निर्णयबाट देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थामा बालबालिकालाई स्वर्णप्रासन थोपा दिने कार्यक्रम सुरु हुँदैछ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Health Minister Paudel's decision to provide Swarnaprasan Ayurvedic drops to boost children's immunity

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् ।

स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रुपमा उपलब्ध गराइँदा प्रतिरोध क्षमता वृद्धि हुनुका साथै बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका हुने जानकार बताउँछन् ।

मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णयबाट यस्तो थोपा देशैभर जन्मिएको ६ महिनादेखि ५ वर्षसम्म प्रदान गर्ने निर्देशिकासमेत स्वीकृत गरेका छन् । गतवर्ष मन्त्री पौडेलले बालबालिकाको प्रतिरोध क्षमता बढाउन यस्तो कार्यक्रम ल्याउने घोषणा गरेका थिए ।

अब देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाहरुमार्फत देशैभर पहिलो चरणमा कार्यक्रम सुरु हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । आगामी वर्षमा देशका सबै आयुर्वेदिक संस्थामा यस्तो कार्यक्रम विस्तार गर्ने योजना रहेको प्रवक्ता बुढाथोकीले बताए ।

‘देशभित्रकै आयुर्वेदिक प्रविधिको प्रवर्द्धन र प्रयोगमार्फत नागरिकको स्वास्थ्य रक्षामा यो महत्त्वपूर्ण कदम हो,’ उनले भने ।

मन्त्री पौडेलले आयुर्वेदिक औषधि तथा उपचार विधि प्रवर्द्धन गर्न स्वदेशी उत्पादनलाई विदेश निर्यातमा सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड जिएमपी प्राप्त गर्ने व्यवस्था मिलाएका छन् । 

विदेश निर्यात गर्न तथा देशभित्रै स्तरीय उत्पादन गरिरहेका आयुर्वेदिक उत्पादकले औषधि व्यवस्था विभागबाट यो प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मन्त्री पौडेलले मिलाएका हुन् ।

नयाँ बजेटमा देशका सबै स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम समेत अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully