इजरायली संसद्का अध्यक्ष आमिर ओहानासँग पनि भेट गरी विपिनको रिहाइका लागि पहल गरिदिन आमा पद्मा र बहिनी पुष्पाले आग्रह गरेका छन् ।
What you should know
काठमाडौँ — इजरालयका राष्ट्रपति इसाक हेर्जोगले प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पासँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघ, अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समुदायसमेतको साथ लिएर इजरायलले विपिनको सकुशल रिहाइका लागि कुनै कसर बाँकी नराख्ने वचन राष्ट्रपति हेर्जोगले पद्मा र पुष्पालाई दिएका छन् ।
कञ्चनपुरका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले उनका आमा र बहिनीलाई गत साता इजरायल झिकाएको हो । विपिनजस्तै हमासले बन्धक बनाएका अन्य विभिन्न मुलुकका व्यक्तिका आफन्तलाई समेत इजरायल झिकाइएको छ ।
पीडित आफन्तले हमासको नियन्त्रणमा रहेकाको रिहाइको माग गर्दै इजरालयको तेल अविवस्थित ‘होस्टेज स्क्वायर’ मा गरेको विशाल प्रदर्शनमा सामूहिक भेट गर्न पुगेका हेर्जोगले त्यसलगत्तै राष्ट्रपति निवासमै बोलाएर विपिनका आमा र बहिनीसँग पत्नी मिचेलसहित भेट गरेका हुन् । त्यसक्रममा नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए ।
भेटपछि विपिनका आमा र बहिनीलाई लिएर सञ्चारकर्मीमाझ उभिन आएका इजरायली राष्ट्रपति हेर्जोगले पद्माले बोकेको विपिनको ठूलो तस्बिरलाई मागेर आफ्नो छातीमा राख्दै भने, ‘यी विपिन जोशी हुन् । अनि यिनी उनकी आमा र उनी बहिनी । २२ वर्षे विपिनलाई ७ अक्टोबर (२०२३) मा अपहरण गरियो । कृषि अध्ययन गर्न नेपालबाट आएका विपिन नेपालै फर्केर आफ्नो देशलाई योगदान गर्न र परिवारको जीवन विकास गर्न चाहन्छन् ।’
आफू र इजरायल सरकारका तर्फबाट विपिनको पहलका लागि सक्दो प्रयास भइरहेको उल्लेख गर्दै उनले थपे, ‘विपिनलाई फिर्ता ल्याउन आवाज उठाइरहेका छौं । इजरायल सरकार र अन्य सबैले, जो बन्धक परेकाप्रति चिन्तित छन्, घर फर्काउन जे गर्न सकिन्छ गर्दै छौं । हामी अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गर्दै छौं कि विपिनको आवाज सुन्नुहोस्, उनी निर्दोष बन्धक हुन् र यथाशीघ्र घर फर्किनुपर्छ ।’
लगत्तै राष्ट्रपतिले पुष्पालाई बोल्न आग्रह गरे तर उनी भक्कानिइन् । हात जोड्दै पुष्पाले भनिन्, ‘सबै इजरायलीलाई मनको गहिराइबाटै धन्यवाद दिन चाहन्छु । हामीसँग उभिनु भएकोमा र हामीलाई आशा दिनु भएकोमा धेरै धेरै धन्यवाद । यो मेरा लागि, मेरो परिवारका लागि र विशेषगरी मेरा दाजुका लािग अत्यन्त ठूलो कुरा हो । मेरो दाजुको रिहाइका लागि विश्व समुदायप्रति अनुरोध छ, कृपया जे गर्न सक्नुहुन्छ, गर्नुहोस् ।’
राष्ट्रपति हेर्जोगले बोल्न संकेत गरेपछि आमा पद्माले रुँदै नेपालीमै भनिन्, ‘त्यति टाढादेखि यहाँसम्म ल्याउने इजरायली सरकारलाई धेरै धेरै धन्यवाद । यति लामो समयसम्म पनि मेरो छोरा विपिन जोशीको अवस्था थाहा पाउन सकेका छैनौं, न उसको आवाज सुन्न पाएका छौं ।’
पद्माले योभन्दा बढी बोल्न नसकेपछि राष्ट्रपतिले राजदूत पण्डितलाई नेपाली भाषामै आफ्ना कुरा राख्ने आग्रह गरे । ‘विपिनको अवस्थाबारे केही थाहा नभएकाले हामी भित्रैदेखि चिन्तित छौं, आशा गर्छौं एक दिन सकुशल छुट्ने छन्,’ काठमाडौस्थित इजरायली दूतावासले उपलब्ध गराएको उक्त भेटवार्ताको भिडियोमा पण्डितले भनेका छन्, ‘विपिनलगायत हमासको बन्धक रहेका ५० जनाकै रिहाइका लागि इजरायली सरकार, अमेरिकी सरकार, संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले पहल गर्नु हुनेछ र पीडित परिवारले छिटोभन्दा छिटो बन्धक रहेका आफन्त फिर्ता पाउने छन् भन्ने आशा छ ।’
पद्मा र पुष्पाले राष्ट्रपतिभन्दा अघि इजरायली संसद्का अध्यक्ष आमिर ओहानासँग पनि भेट गर्दै विपिनको रिहाइको पहलका लागि आग्रह गरेका थिए । प्यालिस्टिनी लडाकु हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किबुजमा आक्रमण गर्दा १२ सय मारिएका थिए भने विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाइएको थियो । हमासले विपिनसहित ५० जनालाई अझै फिर्ता गरेको छैन । हमासको आक्रमणमा परी किबुजमै १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
हमास लडाकुको ग्रिनेड उनीहरूतर्फ नै प्रहार गरेर कैयौंको ज्यान बचाएका घाइते विपिनलाई बन्धक बनाएर लगिएको थियो । त्यसको एक महिनापछि नोभेम्बरमा गाजाको एक अस्पतालमा उपचार भइरहेको अवस्थाको विपिनको भिडियो हमासले सार्वजनिक गरेको थियो । विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल गएका थिए ।
विपिनसहित बन्धक बनाइएकालाई दुई वर्ष पुग्न लाग्दासमेत हमासले फिर्ता नगरेपछि दबाब बढाउन इजरालय सरकारले गाजा क्षेत्र पूर्ण नियन्त्रणमा लिने घोषणाका साथ सैन्य कारबाही गरिरहेको छ । हमासको कब्जामा रहेका ५० जना फिर्ता पाउनुपर्ने, गाजालाई सदासदाका लागि हमासमुक्त बनाउनेलगायत प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको ५ बुँदे घोषणासहित इजरायलले गाजामाथि आक्रमण थालेको हो ।
बन्धक बनाइएकालाई छुटाउन सैन्य कारबाही अघि बढाएसँगै अन्तर्राष्ट्रिस्तरमा दबाब बढाउन विपिनका परिवारलाई जस्तै विभिन्न मुलुकबाट पनि बन्धकका आफन्तलाई इजरायल झिकाइएको छ । उनीहरूको सहभागितामा इजरायलको ‘होस्टेज स्क्वायर’ मा लाखौं समर्थकले प्रदर्शन गर्दै ‘बन्धक बनाइएकाको रिहा हुनुपर्ने र युद्ध रोकिनुपर्ने’ माग गरेका छन् । हमासको बन्धक रहेका ५० जनाको तस्बिर अंकित गरेर विशाल आकारमा बनाइएको इजरायलको राष्ट्रिय झन्डासमेत प्रदर्शन गर्दै मार्चपास गरिएको थियो ।
‘होस्टेज स्क्वायर’ मा भेला भएका हजारौंको भीडलाई सम्बोधन गर्नेमध्ये एक थिइन् विपिनकी बहिनी पुष्पा । इजरायल टेकेदेखि विभिन्न सञ्चारमाध्यम र टीभी च्यानलको स्टुडियोसम्मै पुगेर अन्तर्वार्ता दिनेदेखि इजरायली अधिकारीहरूसँगको भेटघाटमा व्यस्त भइरहेकी पुष्पाले पहिलो पटक इजरायलमा सार्वजनिक सभामा सम्बोधन गरिन् ।
हजारौं समर्थकको बीचमा आफूलाई सम्हाल्न नसकिरहेकी पुष्पाले रुँदै भनिन्, ‘एउटा व्यक्ति ६ सय ८० दिनभन्दा बढी समयसम्म अँध्यारो नरकजस्तो कोठरीमा कसरी बाँचिरहेको छ ? कल्पना पनि गर्न सकिन्न ! दुई वर्षदेखि मेरो परिवारले एउटै मात्र छोरो र मैले मेरो आत्मा, मेरो एउटै मात्र दाजुलाई मिस गरेरहेकी छु ।’
निकै भावुक बनेकी उनले नेपाली भाषासमेत मिसाउँदै भनिन्, ‘द फन्नी गाइज.., दादा.. आई मिस यु सो मच । म तेरो न्यानो अँगालो, तेरो आवाज, सबैलाई धेरै मिस गर्छु, आई मिस यु सो मच ।’
बन्धकका परिवारको समर्थनका लागि इजरायलका विभिन्न स्थानमा छुट्टाछुट्टै भएका विशाल प्रदर्शन र मार्चपासमा गरी १० लाखभन्दा बढी मानिस सहभागी भएको सञ्चारमाध्यमले जनाएका छन् । बन्धक परिवारसँगै उभिएका समर्थकको माग छ, ‘सबै बन्धकलाई घर फर्काउने विस्तृत सम्झौता गर्नुपर्छ, युद्धको अन्त्य हुनुपर्छ ।’
हमासविरुद्धको सैन्य कारबाहीमा खटिएका ‘इजरायल स्पेसल फोर्स’ का क्याप्टेन नादभ बेन याहुदाले विपिनको रिहाइमा कुनै पनि कसर बाँकी नराख्ने इजरालय पुगेका नेपाली पत्रकारको टोलीलाई केही दिनअघि बताएका थिए । ‘विपिनले आतंकवादीकै ग्रिनेड आतंकवादीलाई नै प्रहार गरेर धेरैको ज्यान बचाएका छन् । उनी वीर हुन्, नेपाली र इजरायलीका लागि हिरो हुन् । उनको रिहाइका लागि सक्दो प्रयास गर्नेछौं,’ उनले भनेका थिए, ‘आतंकवादीबाट फिर्ता गराई विपिनलाई लिएर म आफैं काठमाडौं आउनेछु, त्यसमा हामी सफल हुनेछौं भन्ने मलाई विश्वास छ ।’
यसैबीच, तेल अविवस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै विपिनका आमा र बहिनीले इजरायलका राष्ट्रपति र संसद्का अध्यक्षसँग भेटवार्ता गरेको जनाएको छ । अन्य इजरायली अधिकारीहरूसँग पनि भेट गरी रिहाइका लागि पहल गरिदिन आग्रह गर्ने कार्यक्रम रहेको दूतावासको भनाइ छ ।
यस्तै इजरायलका विदेशमन्त्री गिडेअन साअरले पनि विपिनका आमा पद्मा र बहिनी पुष्पासँग सोमबार बेलुकी भेटेका छन् । काठमाडौंस्थित इजरायली राजदूत शमुलिक एरी बासका अनुसार विदेशमन्त्री साअरसमक्ष पद्मा र पुष्पाले हालसम्म विपिनको अवस्थाबारे जानकारी पाउन नसकेको दुःखेसो गर्दै सकुशल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । उनीहरूलाई विदेशमन्त्री साअरले इजरायली सरकारले निरन्तर पहल गरिरहेको र थप गर्ने बताए । ‘इजरायल सबै बन्धकलाई फर्काउने गहिरो प्रतिबद्धतामा छ, चाहे उनीहरू इजरायली नागरिक हुन् वा विदेशी, जस्तै विपिन जोशी,’ उनले भनेका छन् ।
विपिनका परिवारले इजरायली राष्ट्रपति, संसद्का अध्यक्ष, विदेशमन्त्री लगायतका उच्च पदाधिकारीसँग भेटवार्ता बढाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाली दूतावासको पहलमा विपिनका रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा भेटघाट र दबाब बढाउने काम भइरहेको दाबी गरेका छन् । ‘बन्धक रहेका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आमा पद्मा र बहिनी पुष्पाले इजरायली राष्ट्रपति र संसद्का अध्यक्षसँग भेटिसकेका छन् ।
मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप यर्दोगानसँग गत ७ चैतमा र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैनसँग २८ फागुनमा मैले यस विषयमा ध्यानाकर्षण गराउँदै फोन संवाद गरेको थिएँ । सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ ।’ ओलीले विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपाली दूतावासमार्फत निरन्तर संवाद गरिरहेको दाबीसमेत गरेका छन् ।
