टिकटकका प्रतिनिधिहरूले नेपालसँग सहकार्य गर्न पाउँदा उत्साह व्यक्त गर्दै आफ्नो प्लेटफर्मले सीमा नाघी लाखौं प्रयोगकर्तालाई जोड्ने र प्रामाणिक आवाजमार्फत नयाँ खोज र यात्रामा प्रेरित गर्ने सामर्थ्य राखेको भनेका छन् ।
What you should know
काठमाडौँ — नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकबीच नेपाल पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेसहितका प्रतिनिधिहरूको उपस्थितिमा टिकटकसँग सम्झौता आदानप्रदान गरिएको थियो ।
यस साझेदारी अन्तर्गत टिकटक र बोर्डले संयुक्त रूपमा ह्यासट्याग ‘लाइफटाइम एक्सपेरियन्स’ अभियान सुरु गर्दैछन् । जसमा नेपालका प्राकृतिक दृश्यावलोकन, सांस्कृतिक सम्पदा, रंगीन पर्व–उत्सव, विविध खानपान र नेपाली आतिथ्यलाई विश्वसामु प्रस्तुत गरिनेछ । यस अभियानमा स्थानीय तथा अन्तर्राष्ट्रिय सामग्री क्रेयटरहरूले आफ्ना सिर्जनात्मक प्रस्तुतिबाट नेपालको अद्वितीय अनुभवहरूलाई उजागर गर्ने सीईओ जोशीले बताए ।
कार्यक्रममा मन्त्री पाण्डेले टिकटकसँगको सम्झौता केवल प्रवर्द्धनात्मक सहमति मात्र नभई नेपाललाई विश्वसामु प्रभावकारी, आकर्षक र दूरगामी ढंगले प्रस्तुत गर्ने साझा प्रतिबद्धता भएको बताए । उनले भने, ‘पर्यटन केवल उद्योग मात्र होइन, यो नेपालको सामाजिक आर्थिक विकासको मेरुदण्ड हो, जसले रोजगारी सिर्जना गर्ने, साना व्यवसायलाई सहयोग गर्ने र समुदायलाई सशक्त बनाउन भूमिका खेलेको छ ।’
यस समझदारी अन्तर्गत नेपाली युवाहरू, उद्यमी तथा कथाकारहरूलाई डिजिटल सीप विकासका लागि क्षमता अभिवृद्धि कार्यक्रम र कार्यशालाहरू टिकटकले आयोजना गर्ने छ । जसले उनीहरूलाई आफ्नै संस्कृति, विरासत र उद्यमलाई विश्वसामु प्रस्तुत गर्ने अवसर पाउने छन् । टिकटकका प्रतिनिधिहरूले नेपालसँग सहकार्य गर्न पाउँदा उत्साह व्यक्त गर्दै आफ्नो प्लेटफर्मले सीमा नाघी लाखौं प्रयोगकर्तालाई जोड्ने र प्रामाणिक आवाजमार्फत नयाँ खोज र यात्रामा प्रेरित गर्ने सामर्थ्य राखेको भनेका छन् । उनीहरुले यस साझेदारीले नेपालको डिजिटल विश्वमा दृश्यता बढाउने, पर्यटन प्रवाहमा सकारात्मक प्रभाव पार्ने र स्थानीय समुदायका लागि सामाजिक–आर्थिक अवसर सिर्जना गर्ने समारोहमा बताए ।
