हालै रसुवा जिल्लामा ठूलो बाढी र पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुका साथै अर्बौं नोक्शानी भएको उनले बताए।
What you should know
काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको बताएका छन्। सोमबार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोध्न गर्दै उनले यस्तो बताएका हुन्। उनले हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुका साथै अर्बौं नोक्शानी भएको बताए।
तराई, मधेसमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या हुनुका साथै किसानले धान रोप्न नपाएको बताए। समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको बताए। जलवायु परिवर्तनबाट महिला, बालबालिका र विपन्न समुदाय सबैभन्दा पीडित रहेको बताए।
उनले जलवायु वित्तमा समान र सहज पहुँच सुनिश्चित गर्न माग गरे। उनले भने, ‘यस वर्षमात्रै नेपालले जलवायु परिवर्तनका दुःखद् अनुभव व्यहोनुपर्यो । हालै रसुवा जिल्लामा ठूलो बाढी, पहिरोबाट धेरै जनाले ज्यान गुमाउनुभयो । अर्बौं सम्पत्ति नोक्शान भएको छ। तराई, मधेसमा लामो समय वर्षा नहुँदा खानेपानीको समस्या र समयमा खेत रोप्न पाएनन् । समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको छ । नेपालमा जैविक विविधताको क्षेत्रमा ठूलो लगानी भएको छ । हामीले करिव ४६ प्रतिशत भूभाग वनले ढाकेको छ । यसको संरक्षण भइरहेको छ । न्युन कार्बन उत्सर्जन गर्दागर्दै पनि हामीले जलवायु परिवर्तनको गहिरो असर भोग्नुपरेको छ।'
मन्त्री ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका करिव दुई अर्ब नागरिकको पानी, खाद्य र उर्जा सुरक्षाको आधार नेपाल भएको बताए। जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास आउँदा ठूलो समस्या भइरहेको बताए।
