ओलीलाई बोधगया भ्रमणको निम्तो दिएर फर्किए मिस्री

परराष्ट्र सचिवस्तरीय वार्ता प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीमा केन्द्रित र ऊर्जा सहकार्य, कनेक्टिभिटी, विकास सहयोग तथा विभिन्न क्षेत्रका साझेदारीलगायतका सम्भावित एजेन्डामा छलफल

भाद्र २, २०८२

राजेश मिश्र

Misri returned after inviting Oli to visit Bodh Gaya

What you should know

काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएर सोमबार दिल्ली फर्किएका छन् । आइतबार बिहान काठमाडौं ओर्लिएका मिस्रीले प्रधानमन्त्री ओलीलाई मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका हुन् ।

ओलीको भारत भ्रमणकै तयारीका लागि मिस्री दुईदिने नेपाल भ्रमणमा आएका थिए ।

मिश्रिको काठमाडौं आगमनसँगै प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीका तर्फबाट आएको भ्रमणको निम्तोले औपचारिकता पाएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा ओलीलाई भारतीय समकक्षीबाट भ्रमणको निम्तो आएको उल्लेख गरिएको छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भारतका विदेश सचिवले भारतका प्रधानमन्त्रीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा हस्तान्तरण गरेको उल्लेख छ । त्यस्तै, भारतको विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा पनि त्यही विषय उल्लेख छ । भ्रमणको मिति भने खुलाइएको छैन ।

Misri returned after inviting Oli to visit Bodh Gaya

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले आपसी सहमतिमा अनुकूल मिति तय हुने बताए । समय आएपछि मितिको घोषणा हुने उनले जानकारी दिए । मितिको घोषणा दुवै पक्षले औपचारिक रूपमा एकै समयमा गर्ने चलन छ । औपचारिक रूपमा भ्रमणको तिथिको घोषणा नगरिएको भए पनि भदौ ३१ र असोज १ गते दुईदिने भारत भ्रमणमा ओली जाने तय भइसकेको छ । दुवै पक्षबीच त्यस तिथिमा भ्रमण गर्ने टुंगो लागिसकेको छ । यस पटक प्रधानमन्त्री ओली दिल्ली नगएर बोधगया जाने तयारी छ । मोदी पनि त्यहीँ पुग्नेछन् । दुवै पक्षबीच द्विपक्षीय वार्ता पनि त्यहीँ नै हुनेछ । यद्यपि भ्रमणको तिथिसँगै दुई प्रधानमन्त्रीबीच भेट हुने स्थानबारे औपचारिक घोषणा गरिएको छैन ।

परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले उच्च राजनीतिक भेटघाटका साथै सचिव तहमा द्विपक्षीय वार्तासमेत गरेका छन् । सचिव तहको बैठक मुख्य रूपमा ओलीको भारत भ्रमण कसरी उपलब्धिमूलक र सफल बनाउनेमा केन्द्रित रहेको बताइएको छ । ‘प्रधानमन्त्रीको आगामी भारत भ्रमणका लागि सम्भावित उपलब्धिहरूलाई अधिकतम बनाउनमा केन्द्रित हुँदै कनेक्टिभिटी, ऊर्जा सहयोग, डिजिटल सम्पर्क र विकास सहयोगका लागि विभिन्न पक्षहरूमा दुई सचिवबीच व्यापक छलफल भएको छ,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा ‘प्रधानमन्त्री ओलीको आगामी भारत भ्रमणको एजेन्डाको हिस्सा बन्न सक्ने सम्भावित विषय तथा थप सहकार्यका अवसरहरूबारे दुवै सचिवहरूबीच विस्तृत छलफल भएको छ,’ भनिएको छ ।

प्रधानमन्त्री ओली भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, एयर रुट तथा व्यापारमा सहजतालगायतका पुरानै द्विपक्षीय एजेन्डाहरूले स्थान पाउने देखिएको छ । त्यसबाहेक पारस्परिक कानुनी सहायता सम्झौता (एमएलए) मा हस्ताक्षर गर्ने तयारी छ । गत महिना दिल्लीमा भएको दुई देशका गृह सचिवस्तरीय बैठकमा एमएलएको मस्यौदामा सहमति जुटिसकेको छ । भारतीय पक्षले सुपुर्दगी सन्धिको नयाँ मस्यौदामा हस्ताक्षर गर्न पनि जोड दिएको छ । तर, दुई देशबीच रहेको पुरानो सुपुर्दगी सन्धिको पुनरावलोकनका लागि थप छलफलहरू आवश्यक रहेको भन्दै नेपालले त्यसलाई यसैपालि एजेन्डामा प्रवेश गराउन चाहेको छैन । सुपुर्दगी सन्धिको नयाँ मस्यौदामा दुई देशका सचिवहरूबाट २०६१ मै प्रारम्भिक हस्ताक्षर भइसकेको छ । त्यसलाई सामान्य परिमार्जन गरी समयानुकूल बनाएर अगाडि बढ्नुपर्नेमा भारतको जोड छ ।

काठमाडौं बसाइका क्रममा मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका थिए । त्यसबाहेक कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार भेटे । सोमबार दिल्ली फर्किनुपूर्व उनले प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेर लाइट स्ट्राइक भेइकल, क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट र सैन्य जनावरहरूसहित रक्षा सामग्री र उपकरण हस्तान्तरण गरेका थिए । त्यस्तै, मधेशकेन्द्रित दलका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाललाई होटल द्वारिकामा सामूहिक भेटवार्ता गरेका छन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully