विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले स्थानीय आवाजलाई प्राथमिकता दिँदा केन्द्रसम्म असर पार्ने उल्लेख गरिन्।
What you should know
विराटनगर — पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले स्थानीय सञ्चार माध्यम जनताको आँखा भएको बताएकी छन् । विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले स्थानीय आवाजलाई प्राथमिकता दिँदा केन्द्रसम्म असर पार्ने उल्लेख गरिन्।
भण्डारीले कार्यक्रममा कुनै राजनीतिक टिप्पणी नगरी स्थानीय सञ्चार, युवापुस्ताको भविष्य र दिगो विकासका चुनौतीलाई मात्र केन्द्रमा राखिन्। उनका अनुसार, ऊर्जाशील युवाको पलायन रोक्न नसक्दा राज्य निर्माणमा गम्भीर असर पर्न सक्छ।
उनले राजनीतिक अस्थिरता र भ्रष्ट्राचारजस्ता कारणले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न कठिन हुनेमा जोड दिइन्। 'राज्यप्रति विश्वास कमजोर भएको छ, जनतामा निराशा छ,' उनले भनिन्।
भण्डारीको भनाइ अनुसार, स्थानीय सञ्चारमाध्यमले समाजको यथार्थ उजागर गर्नेजस्ता महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसलाई सुदृढ बनाउन राज्य र समाज दुवैले जिम्मेवारी लिनु जरुरी छ।
यसअघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले आफूले कुनै गुट नचलाएको दाबी गरिन् । भण्डारीले भनिन्, ´मलाई गुटसुट चलाउन आउँदैन, यो आरोपको खण्डन गर्छु।´
आफ्नो नेकपा (एमाले) सदस्यता सक्रिय रहेको र पार्टीको नीति अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले आफू एमालेको ४५ वर्षभन्दा लामो कार्यकर्ता भएको स्मरण गराउँदै, पार्टीको हितमा काम गर्ने भनिन्।
गत साउन १४ गते भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि पार्टीको केन्द्रीय समितिले उनको सदस्यता खारेज गरेको थियो। तर भण्डारीले आफूले पार्टीको विधानअनुसार सदस्यता नवीकरण गरिसकेको बताउँदै, आफ्नो अभियान जारी राख्ने स्पष्ट पारेकी छन्।
वाम एकताको चर्चाबारे उनले तत्काल बलियो सम्भावना नदेखिएको बताइन् । भनिन्, `तर पूर्ण असम्भव भने छैन।´
भण्डारीले आफ्नो राजनीतिक जीवनलाई पदपछिको अवधिमा पनि जारी राख्न सकिने र प्रत्येक नागरिकले निर्वाचित भएर फर्किन सक्ने कुरा उल्लेख गरेकी छन्। उनले पार्टीको औपचारिक निर्णयबारे जानकारी नहुँदा पनि आफ्नो सदस्यता र पार्टी प्रतिबद्धता कायम रहेको पुनः स्पष्ट पारेकी छन्।
