काठमाडौंस्थित भारतीय दूतावासले नेपाली सेनालाई विविध सामग्री सहयोग गरी दुई देशबीचको रक्षा सहकार्यलाई थप मजबुत र प्रभावकारी बनाएको जनाएको छ।
काठमाडौँ — भारतले नेपाली सेनालाई ५ वटा घोडा र २ वटा कुकुर सहयोग गरेको छ । सोमबार काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक कार्यक्रममा भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देललाई गाडी, घोडा, कुकुर र विभिन्न स्वास्थ्य उपकरण सहयोग गरेका हुन् ।
नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारतले लाइट भेहिकल ६, आठ किसिमका अति आवश्यक मेडिकल सामग्री, ब्रिडिङ्ग घोडा ५ तथा सैनिक कुकुर २ वटा दिएको हो । यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुत एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि हुने सेनाले जनाएको छ ।
तस्बिरहरू : भारतीय दूतावास, काठमाडौं
त्यस्तै काठमाडौंस्थित भारतीय दूतावासले यो सहयोगले दुई सेनाबीचको घनिष्ठ सम्बन्ध र बलियो रक्षा सहकार्यलाई प्रतिबिम्बित गर्ने जनाएको छ ।
