सौर्य जहाज दुर्घटनामा न्यायिक छानबिनको माग

दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका सप्तरीका प्रकाश खतिवडाले गृहमन्त्रीलाई बुझाएको माग पत्रमा, रतिशचन्द्र लाल नेतृत्वको सरकारी आयोगले पेस गरेको प्रतिवेदन अपुरो भएको र घटनाको वास्तविकता उजागर नभएको दाबी गरेका छन् ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Demand for judicial inquiry into solar ship accident

What you should know

काठमाडौँ — सौर्य एयरको जहाज दुर्घटनाका पीडित परिवारले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटी न्यायिक छानबिनको माग गरेका छन् । 

दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका सप्तरीका प्रकाश खतिवडाले गृहमन्त्रीलाई बुझाएको माग पत्रमा, रतिशचन्द्र लाल नेतृत्वको सरकारी आयोगले पेस गरेको प्रतिवेदन अपुरो भएको र घटनाको वास्तविकता उजागर नभएको दाबी गरेका छन् । 

खतिवडाले सरकारी प्रतिवेदनमा तथ्यगत त्रुटि देखिएको भन्दै मुख्य दोषीलाई उन्मुक्ति दिने नियतका साथ प्रतिवेदन तयार गरिएको शंका व्यक्त गरेका छन् । 

उनले दुर्घटनामा मानवीय लापरबाही र सौर्य एयरलाइन्सको गम्भीर त्रुटि देखिएको भए पनि दोषीको पहिचान नभएकाले न्यायिक छानबिन आयोग गठन अपरिहार्य भएको गृहमन्त्रीसँग भनेका छन् । 

उनले बुझाएको माग पत्रमा ‘फेरी उडान’ का नाममा यात्रु राखेर गरिएको गैरकानुनी उडान, जहाजलाई पोखरा लैजानुको औचित्य र एयरलाइन्स कम्पनीले कानुन र म्यानुअल उल्लंघन गरेको विषय स्पष्ट नगरेको भन्दै प्रश्न उठाइएको छ । साथै, प्रतिवेदनले पीडितको न्याय र क्षतिपूर्तिको विषयमा कुनै व्यवस्था नगरेको आरोप पनि लगाइएको छन् । गृहमन्त्री लेखकले पीडित परिवारलाई न्याय दिलाउन तथा घटनाको पुनः छानबिनका लागि पहल गर्ने आश्वासन दिएका छन् । 

२०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । घटनापछि सरकारले तत्कालीन नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लालको नेतृत्वमा पाँच सदस्यीय छानबिन आयोग गठन गरेको थियो ।

यसैगरी बिमामा विभेद भएको भन्दै यो घटनाका १८ मध्ये १० मृतकका परिवारजनले हालसम्म बिमाबापतको क्षतिपूर्ति बुझेका छैनन् । 

उनीहरूमध्ये केहीले बिमा समितिमा उजुरी दर्ता गरेका छन् । समितिको छानबिनले निर्णय गरी नसकेको परिवारजनले बताएका छन् । 

कान्तिपुर

Link copied successfully