लामिछाने नख्खु कारागारमा सरुवा

लामिछानेले गत १४ जेठमा निवेदन दिँदै डिल्लीबजार कारागार स्थानान्तरणको माग गरेकामा २८ साउनको पूरक निवेदनबाट नख्खु कारागार रोजेका थिए।

भाद्र १, २०८२

विवेक पोख्रेल

Transferred to Lamichhane Nakhkhu Prison

What you should know

काठमाडौँ — सहकारी ठगीसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई रूपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिएको छ । काठमाडौंमा गत २२ चैतमा पक्राउ गरेर रूपन्देही कारागारको ब्लक नम्बर ४ मा राखिएका उनलाई शनिबार नख्खु ल्याइएको हो । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले पदभार सम्हालेकै दिन शुक्रबार लामिछानेलाई रूपन्देहीबाट नख्खु सार्ने निर्णय गरेका थिए । लामिछानेले स्थानान्तरणको माग गरेर गत १४ जेठमै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए ।

अदालतले १६ जेठमा स्थानान्तरणको अनुमति दिएको थियो । लामिछानेले पहिले डिल्लीबजार कारागार स्थानान्तरणको माग गरेको भए पनि २८ साउनमा दिएको पूरक निवेदनमा नख्खु रोजेको महानिर्देशक शर्माले जानकारी दिए । 

कारागार स्थानान्तरणको माग गरेर निवेदन दिए पनि आफूलाई रूपन्देहीमै राखिएकामा लामिछानेले गुनासो गर्दै आएका थिए । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापासहितको टोलीले सोमबार रूपन्देही कारागार निरीक्षण गर्दासमेत उनले कारागार स्थान्तरण हुन चाहे पनि सुनुवाइ नभएको गुनासो गरेका थिए । बिहीबारको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरूको प्रश्नमा गृहमन्त्री रमेश लेखकले लामिछानेको कारागार सरुवालाई गम्भीर रूपमा लिएको बताएका थिए । 

बिरामी भएर, एकभन्दा बढी ठाउँमा मुद्दा चलेको हकमा, एउटा कैदीका कारण अरू वा स्वयं पनि असुरक्षित हुने अवस्थामा र कैदीबन्दीले घरपायक सरुवा चाहेको खण्डमा नियम पुर्‍याएर कारागार स्थानान्तरण गर्न सकिने कानुनी व्यवस्था छ । लामिछानेले आफूलाई घरपायक सरुवा गरिदिन माग गरेका हुन् । रूपन्देही कारागारले शनिबार प्रक्रिया पूरा गरेपछि लामिछानेलाई जहाजमा काठमाडौं ल्याइएको थियो । नख्खु कारागारका प्रशासक भीमराज निरौलाका अनुसार उनलाई छुट्टै कोठामा राखिएको छ । 

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले गत १३ माघमा लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । तर त्यसमा पुनरावेदन भएपछि गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो । 

लामिछानेले सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा आफ्नो भागको बिगो दाखिला गरेर रिहाइको आदेश माग गर्दै जिल्ला अदालतमा हालै निवेदन दिएका थिए । अदालतले बिगो नै यकिन नभएको र यसअघि नै थुनछेकको विषय सर्वोच्चबाटै टुंगो लागिसकेको जनाउँदै उनको माग अस्वीकार गरेको थियो ।

लामिछानेविरुद्ध काठमाडौं, कास्की, चितवन र पर्सा जिल्ला अदालतमा पनि सहकारी ठगी र संगठित अपराधका मुद्दा चलेका छन् । कास्कीमा सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत मुद्दा चलेका कारण उनको सांसद पद निलम्बनमा छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully