कान्तिपुरकर्मीसहित दुई जनालाई तामाङ मिडिया अवार्ड

टिकाराम तामाङसँगै धनकुटाकी पत्रकार मालती मोक्तानलाई तामाङ मिडिया अवार्ड नगद १० हजार १ सय रुपैयाँ र सम्मानपत्रसहित प्रदान गरियो ।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

Tamang Media Award to two people including Kantipur personnel

काठमाडौँ — कान्तिपुरकर्मी टिकाराम तामाङले तामाङ मिडिया अवार्ड २०८२ प्राप्त गरेका छन् । तामाङ पत्रकार संघले ३१औं तामाङ प्रसारण दिवसका अवसरमा आइतबार पत्रकार तामाङलाई सम्मान गरेको हो ।

तामाङ इकान्तिपुर डटकममा उपसम्पादकका रुपमा कार्यरत छन् । 

यस्तै, धनकुटाकी पत्रकार मालती मोक्तान 'मानवी'लाई पनि तामाङ मिडिया अवार्ड प्रदान गरिएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ र बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले दुवै पत्रकारलाई जनही १० हजार १ सय नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

Tamang Media Award to two people including Kantipur personnel

कार्यक्रममा बागमती प्रदेशका नवनियुक्त सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संघका पूर्वअध्यक्ष प्रतिक ङेसुर तामाङ, कार्यक्रमका लागि सहयोग उपलब्ध गराउने विभिन्न व्यक्तिहरुलाई सञ्चारमन्त्री गुरुङमार्फत कदरपत्र हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले अरु क्षेत्रमा भन्दा सरकारी सञ्चारमाध्यममा समावेशी नीति प्रभावकारी देखिएको दाबी गरे । उनका अनुसारअनुसार राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन, गोरखापत्रले मातृभाषाका समाचार सम्प्रेषण गरेर समावेशिताको मर्मअनुसार संघीयतालाई सुदृढ बनाउने प्रयास भएको छ ।

गोरखापत्रमा ४५, रेडियो नेपालमा २६ र राससले तीन वटा मातृभाषामा समाचार सम्प्रेषण गरिरहेको जनाउँदै मन्त्री गुरुङले सञ्चार माध्यममा भाषागत समावेशिता प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । उनले चालु आर्थिक वर्षमै राससले तामाङ भाषामा पनि समाचार सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए । 

बागमती प्रदेशका मन्त्री तामाङले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए । 

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले मातृभाषा पत्रकारिता जोगाउन राज्यले लगानी गर्नुपर्ने बताए । मातृभाषाको पत्रकारिता गर्न चुनौती रहेको भन्दै मातृभाषी पत्रकारहरुलाई क्षमतावान बनाउनुपर्नेमा जोड दिए । मातृभाषाको पत्रकारिताले भाषा जोगाउने र विश्वमा पहिचान स्थापित गराउने दोहोरो फाइदा पुर्‍याइराखेको उल्लेख गरे ।   

तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले आफ्नो समुदायका पत्रकारको वृत्तिविकासमा सघाउन पुरस्कारको व्यवस्था गरिएको बताए ।     

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष तीर्थमान बलले रेडियो नेपालमा तामाङ भाषाको कार्यक्रम थप गर्नु व्यवस्थाका लागि सञ्चारमन्त्री गुरूङको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका प्रतिनिधिहरुले पनि बोलेका थिए ।    

रेडियो नेपालमा पहिलोपटक तामाङ भाषाको समाचार प्रसारण भएको दिनलाई तामाङ पत्रकारहरूले तामाङ प्रसारण दिवसका रूपमा मनाउँदै आएका छन् । २०५१ भदौ १ गते पहिलोपटक तामाङ भाषाले प्रसारण क्षेत्रमा प्रवेश पाएको थियो ।

कान्तिपुर

Link copied successfully