भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

परराष्ट्र सचिव अमृतबहादुर राईसँग द्विपक्षीय वार्ता गर्नुका साथै प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवासहित उच्च पदस्थ राजनीतिक नेतृत्वसँग भेटघाट हुनेछ।

भाद्र १, २०८२

राजेश मिश्र

Indian Foreign Secretary Misri is coming to Nepal today

What you should know

काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री औपचारिक भ्रमणका लागि आउन लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्रीको नेपाल भ्रमण हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल–भारत साझेदारीका विभिन्न पक्ष, कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयहरूमा दुई परराष्ट्र सचिवबीच कुराकानी हुने जनाएको छ । मिस्रीले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग पनि भेट्ने जनाइएको छ । 

भारतको विदेश मन्त्रालयले पनि शनिबार नै मिस्रीको नेपाल भ्रमणबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ । भारत र नेपालबीच बलियो मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विज्ञप्तिमा नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको उल्लेख छ ।

‘विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुने,’ भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिस्री आइतबार बिहान ९ बजे भारतीय वायु सेनाको विशेष उडानबाट काठमाडौं ओर्लनेछन् । 

नेपाल भ्रमणका क्रममा मिस्रीले परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गर्नुका साथै प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवासहित उच्च पदस्थ राजनीतिक नेतृत्वलाई भेट्ने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार मिस्रीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन् । 

प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो । परराष्ट्रका एक अधिकारीका अनुसार मिस्रीको नेपाल भ्रमण प्रधानमन्त्री ओलीको भारत भ्रमणको आधार तथा माहौल तयार पार्नमा केन्द्रित हुनेछ । विदेश सचिव मिस्रीको काठमाडौंमा हुने भेटवार्ताले प्रधानमन्त्री तहमा कुन–कुन एजेन्डालाई प्रवेश गराउने र हस्ताक्षर हुन सक्ने विषयहरूको प्रारूप तयार पार्ने ती अधिकारीको भनाइ छ । 

भारत भ्रमणका क्रममा मोदी र ओलीबीच यस पटक दिल्लीबाहिर द्विपक्षीय वार्ताको तयारी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बोधगयामा दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ताको तयारी छ । बिहार राज्यको बोधगया सहर बौद्ध धर्मका अनुयायीहरूका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ । बुद्धले ज्ञान प्राप्त गरेको स्थलका रूपमा बोधगया चिनिन्छ । 

भारतीय विदेश सचिव मिस्री सोमबार दिल्ली फर्किनेछन् । मिस्री दोस्रो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । गत वर्ष साउन २७–२८ मा दुई दिनको भ्रमणका लागि उनी नेपाल आएका थिए ।

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully