राष्ट्रपति पौडेलले नेपाल र भारतबीचको सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धमा आपसी विश्वास र सम्मानको महत्त्वमा जोड दिए।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताए ।
'एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रुपमा भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरको प्रगतिबाट हामी प्रसन्न छौँ, एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ, 'राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
नेपाल र भारतबीच शताब्दीऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको उनले बताए ।
'नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राखेको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्त्व दिने भारत सरकारको ‘छिमेक पहिले नीति’ को नेपाल सराहना गर्दछ, ' राष्ट्रपति पौडेलको भनाइ थियो ।
विदेश सचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
विदेश सचिव मिश्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवं विकासका लागि ‘कनेक्टिभिटी’ विस्तारका साथै पारस्परिक हित र चासोका विषयमा सम्बद्ध अधिकारीहरुसँग छलफल गर्ने अवसर मिलेको बताए ।
