नागढुंगा सुरुङमार्गको भनिएको भिडियो भारतको हिमाचल प्रदेशमा आएको बाढीको भएको पुष्टि भएको छ।
What you should know
काठमाडौँ — शनिबार दिउँसो ३ बजेर ६ मिनेटमा डम्मर साउद नामक फेसबुक आइडीबाट एउटा भिडियो पोस्ट भयो । उक्त भिडियोमा लेखिएको छ, ‘काठमाडौं जाने सुरुङ मार्गमा आज, खर्बौं लगानी स्वाहा’ ।
नागढुंगा सुरुङ मार्गमा भिडियोमा देखाए जस्तै गरी पानि छिरेको हो त भनेर बुझ्नका लागि हामीले नागढुंगा-सिस्न्खोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपाललाई फोन गर्यौ । उनले सो भिडियो त्यहाँको नरहेको बताए । ‘बिहान म आफैं गएर आएको हुँ । १२ बजेतिर फर्किएको हुँ,’ नेपालले भने, ‘त्यस्तो केही भएको छैन ।’
कहाँको हो त्यो भिडियो ?
नागढुंगा-सिस्न्खोला सुरुङ मार्ग आयोजनाका प्रमुखले सो भिडियो त्यहाँको नभएको बताएपछि हामीले त्यो भिडियो कहाँको रहेछ भनेर खोज्यौँ । हामीले गुगल लेन्सको सहायताले सो भिडियोसँग मिल्दाजुल्दा अन्य भिडियो पनि हेर्यौँ ।
डम्मर साउदको नामबाट मात्रै नभइ ‘अल इन वान भिडियोस् डिके', र्युमर नेपाल, गणेश गौतम र राजेन्द्रप्रसाद पन्त नामक फेसबुक आइडीबाट सोही भिडियो पोस्ट भएको पाइयो । जसमा हजारौँ भ्यूज आएको छ । सबै भिडियोहरूमा दाबी गरिएको छ-नागढुंगाको सुरुङ मार्गभित्र पानी छिर्यो ।
स्रोत खोज्दै जाँदा यो भिडियो भारतको हिमाचल प्रदेशमा हालै आएको बाढीको रहेको पाइयो । गत ८ अगस्टमा ५ विभिन्न स्थानमा आएका पहिरोका कारण चण्डिगढ-मनाली राजमार्ग बन्द भएको थियो । राजमार्ग बन्द भएपछि सुरुङ मार्गमा पानी छिरेर सवारी साधनहरू डुबेका थिए । सोही भिडियोलाई नेपालको भन्दै भाइरल गराएको पाइयो ।
नेपालमा कसरी भयो भाइरल ?
यो भिडियो नेपालमा टिकटकबाट फैलिएको पाइयो । टिकटकमा @khatrigaule2 युजरबाट खत्री नामक एकाउन्टबाट यो भिडियो फैलिएको पाइएको हो । ट्रेभोरफक्स टुलको प्रयोग गरेर हेर्दा यो भिडियो शुक्रबार ११ बजेर १४ मिनेटमा पोस्ट भएको भेटियो । हाम्रो खोजले यो भिडियो यसभन्दा अगाडि नेपालमा फैलिएको भेटिएन ।
यो सामग्री तयार पार्दासम्म यो भिडियो हालसम्म १९ लाख भन्दा बढी मानिसले हेरिसकेका छन् । जसमा आएका 'रियाक्ट' नै ५९ हजार ९ सय छन् । ९ सयभन्दा बढीले कमेन्ट गरेका छन् भनेर ४ हजार ८ सय भन्दा बढीले यो भिडियो सेयर गरेका छन् ।
यो भिडियो पोस्ट गर्दै गर्दा टाइटलमा ‘Part 3, नेपालको होइन है यो भिडियो माथि काठमाडौं लेखे पनि नझुक्किनु होला’ लेखिएको छ । तर भिडियोमा भने ठूलो अक्षरमा ‘काठमाडौं जाने सुरुङ मार्गमा आज’ लेखिएको छ । त्यसको तलपट्टि अलि आश्चर्यजनक इमोजीसहित ‘OMG’ लेखिएको छ ।
हामीले यो भिडियो पोस्ट गर्ने एकाउन्ट चेक गर्दा यो अकाउन्टबाट अन्य धेरै भ्रामक भिडियोसमेत अपलोड भएको पाइएको छ ।
