काठमाडौं उपत्यकामा पहिलोपटक काँसे घाँसेचरी अभिलेख

बढ्दो सहरीकरणसँगै मानवीय अतिक्रमण बढ्दा बासस्थान नष्ट हुँदै गएकाले यस्को संख्या तीव्र रुपमा घटिरहेको छ ।

भाद्र १, २०८२

मनोज पौडेल

First time in Kathmandu valley Bronze Grass Archive

What you should know

लुम्बिनी — काठमाडौं उपत्यकामा पहिलोपटक विश्वमै दुर्लभ चरा काँसे घाँसेचरी (ब्रिस्टल्ड ग्रासबर्ड) अभिलेख भएको छ । भक्तपुरको बोडे नजिक मनोहरा खोलाको तटमा २८ गतेदेखि ३१ गतेसम्म यो चरा देखिएको थियो । 

यो चरा वन्यजन्तु फोटोग्राफर प्रताप गुरुङ, दीपक बुढाथोकी र सञ्जय था श्रेष्ठले मनोहरा खोलाको किनारमा देखेर तस्बिर खिचेका थिए । उनीहरुले वयस्क हुँदै गरेको पोथी चरा फेला पारेका हुन् । 

यो गृष्मकालीन आगन्तुक चरा हो । तर, थोरै संख्यामा रैथाने पनि छन् । पूर्वको कोशी टप्पुदेखि पश्चिमको शुक्लाफाँटा तराईको भूभागमा २ सय ५० मिटर उचाइसम्म अभिलेख भएको यो चरा काठमाडौं उपत्यकामा पहिलोपटक देखिएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए ।

काठमाडौंमा भने एक हजार २ सय ५० मिटर उचाइमा देखिएको हो । यो चरा मार्च मध्यतिर नेपालमा आउँछ । मध्य अप्रिलतिर बल्ल आवाज निकाल्न थाल्छ । त्यसपछि प्रजननन लागि पाथी खोजेर ओथारो बस्छ । बचेरा हुर्काएर अक्टोबरतिर फर्केर जाने गरेको चराविद् बरालले बताए ।  

First time in Kathmandu valley Bronze Grass Archive

प्रायः लुकेर बस्ने बानी भएको यो चराको तस्बिर खिच्न निक्कै गाह्रो हुन्छ । तर, प्रजननका बेला विशेष आवाज र झाडी बाहिर निस्कने गर्दा सजिलै देखिने गर्छ । यो चरा झाडी भएको घाँसे मैदान र काँसघारीमा बस्न मन पराउँछ ।

बढ्दो सहरीकरणसँगै मानवीय अतिक्रमण बढ्दा बासस्थान नष्ट हुँदै गएकाले यस्को संख्या तीव्र रुपमा घटिरहेको छ ।

'सुरुमा साउन २८ गते अर्कै चरा लागेको थियो,' तस्बिर खिच्ने वाइल्ड लाइफ फोटोग्राफर प्रताप गुरुङले भने, 'दुई दिनपछि खोज, अनुसन्धान र विज्ञलाई सोध्दा त दुर्लभ काँसे घाँसेचरी रहेछ । यसले आफूलाई चराकै क्षेत्रमा लाग्न थप उत्प्रेरित गरेको छ ।'

यो चरा नेपालमा पहिलोपटक सन् १९८६ मा चितवनको राप्ती नदी किनारमा आर यल फ्लेमिंग जुनियरले देखेको अभिलेख छ । 

First time in Kathmandu valley Bronze Grass Archive

बच्चा कोरल्ने समयमा भाले करिब २० मिटरभन्दा माथि उडेर गीत गाउँदै केही समय आफनो प्रजनन क्षेत्रमाथि फराकिलो गरी उड्ने र बिस्तारै तल झर्ने गर्छ । 

तराईमा पाइने चरा काठमाडौं उपत्यकामा अभिलेख भएसँगै चराको विविधता र अध्ययन फराकिलो बन्दै गएको छ । गृष्म आगन्तुक यो चरा गृष्मकालमा नेपालमा एक हजार ६ सयदेखि ३ हजार २ सयसम्म रहने अनुमान चराविद्ले गरेका छन् । गृष्म आगन्तुक चरा गणना गर्ने क्रममा सन् २०१२ अप्रिलमा कोशी टप्पुमा ४ सय ५८ वटा काँसे घाँसेचरी गणना गरिएको थियो । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully