२०१० मा रतु बुढा र नेवकली बुढाको कोखबाट जन्मिएकी उनी सानैमा बाबुआमाको मृत्यु भएपछि दिदी शिवकलीसँग बस्दै आएकी थिइन् । १६ वर्षमा विवाह गरे पनि श्रीमान् र परिवारसँग तीन/चार दशकदेखि छुट्टिएकाले उनी अहिलेसम्म नागरिकताबाट वञ्चित भएकी हुन् ।
What you should know
सल्यान — १६ वर्ष पुगेपछि नागरिकता पाउनु नैसर्गिक अधिकार हो तर सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१ बस्नेउराकी ७२ वर्षीया लोकीकुमारी बुढाले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् ।
२०१० मा रतु बुढा र नेवकली बुढाको कोखबाट जन्मिएकी उनी सानैमा बाबुआमाको मृत्यु भएपछि दिदी शिवकलीसँग बस्दै आएकी थिइन् । १६ वर्षमा विवाह गरे पनि श्रीमान् र परिवारसँग तीन/चार दशकदेखि छुट्टिएकाले उनी अहिलेसम्म नागरिकताबाट वञ्चित भएकी हुन् ।
सानैमा बाबुआमा र विवाहपछि श्रीमान्लगायत परिवारसँग सम्बन्ध टुटेपछि बेसहारा रहेकी लोकीको नागरिकता बनाउन प्रयास सफल भएन । पछि लडेर ढाडमा चोट लागेपछि शारीरिक रूपमा अशक्त उनले सम्बन्धित निकायमा पुगेर पहलसमेत गर्न सकेकी छैनन् ।
नागरिकताबाट वञ्चित भएकै कारण उनी राज्यबाट पाउने सुविधाबाट समेत वञ्चित छिन् । बस्नेउरामा जन्मे पनि अहिले उनी अम्रामा बस्दै आएकी छन् । आर्थिक अवस्था नाजुक भएकाले उनी दुई छाकका लागि घरघरमा गएर काम गर्न बाध्य छिन् ।
बुबाआमाको पहिचान खुलेको र विवाह भएको थाहा हुँदाहुँदै पनि रेखदेख गर्ने व्यक्ति नभएकाले अशक्त लोकीको नागरिकता बनाउन समस्या परेको अम्रा निवासी दोर्णकुमार यरी बताउँछन् । एक छाक टार्न अर्काको घरमा गएर काम गर्ने उनी नागरिकता नभएकै कारण सरकारबाट पाउने सामाजिक सुरक्षालगायत सुविधाबाट वञ्चित हुनुपरेको यरीको भनाइ छ ।
‘बस्नेउरामा बस्ने केही स्थानीयसँग सोधपुछ गर्दा बाबुआमा गुमाएपछि लोकी दिदी शिवकलीसँगै बस्दै आएकी रहिछन्, विवाहपछि केही समय श्रीमान्सँग पनि बसिन्,’ उनले भने, ‘श्रीमान् तथा उनका परिवारसँग सम्बन्ध राम्रो नभएको र लडेर ढाडमा गहिरो चोट लागेपछि परिवारले बेवास्ता गर्दा उनी पुनः दिदीकैमा फर्केकी रहिछन् । दिदीको बिहे भएपछि एक्ली भएको देखिन्छ ।’ लोकीले नागरिकता पाएर सामाजिक सुरक्षा भत्ता मात्र पाइन् भने पनि उनलाई आर्थिक भरथेग हुने यरी बताउँछन् ।
बन्गाड कुपिन्डे नगरपालिका–१ का वडा अध्यक्ष थुमबहादुर बीसी लोकीको आफन्तको खोजीमा जुटेको बताउँछन् । दिदी शिवकुमारी सल्लीबजारमा बस्दै आएकाले उनीसँग भेट्ने तयारी भइरहेको र उनको कोसँग विवाह भएको थियो भन्ने खोजी पनि जारी रहेको उनले बताए । ‘हामी लागिरहेका छौं, जिम्मेवार व्यक्ति भेटिए छिट्टै उनको नागरिकता बन्छ,’ उनले भने ।
सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले अहिलेसम्म नागरिकता पाउन नसकेकी लोकीलाई भेट्न घरमै जाने तयारी रहेको बताए । लोकी र उनका आफन्तसँग भेटघाट भएपछि जतिसक्यो छिटो नागरिकता उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।
