भैरहवाको दरबार ब्यांक्वेटमा शुक्रबारदेखि सुरु हुने प्रशिक्षणमा केन्द्रीय नेताहरूको उपस्थिति, विभिन्न समितिका पदाधिकारीको सहभागिता रहनेछ।
भैरहवा — रुपन्देही-३ को उपनिर्वाचन तयारीमा जुटेको रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबार बिहानबाट भैरहवामा सुरु हुँदैछ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार प्रशिक्षण सञ्चालन हुने रास्वपाले जनाएको छ ।
रास्वपाका लुम्बिनी प्रदेश सदस्य तथा अभियान र प्रचारप्रसार प्रमुख महेन्द्र उपाध्यायका अनुसार भैरहवाको गल्लामण्डीस्थित दरबार ब्यांक्वेटमा शुक्रबार बिहान ९ बजेबाट सञ्चालनमा हुने प्रशिक्षणमा सहभागिताका लागि केन्द्रीय नेताहरू यहाँ आइपुगेका छन् । प्रशिक्षणमा प्रदेश समिति, सल्लाहाकार, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी र प्रदेश विभागका सदस्य सहभागी रहने उनले बताए ।
कार्यक्रममा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनीष झा, महामन्त्री कविन्द्र बुर्लाकोटी, पूर्व मन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य तोषिमा कार्की, क्रान्तिशिखा धिताल, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख तथा सहमहान्त्री विपिनकुमार आचार्यलगायतले पार्टी सबलीकरण, रुपन्देही–३, को उप निर्वाचन र सदस्यता वृद्धिलगायत विषयमा प्रशिक्षण दिनेछन् ।
रुपन्देही–३ को उपनिर्वाचनका लागि जिल्लाका ९ जना आकांक्षीलाई प्रारम्भिक सूचीमा राखेको रास्वपाले प्रशिक्षणबाट चुनावी रणनीति र योजना तयार गर्ने जनाइएको छ । अहिले पार्टीले उम्मेदवार आकांक्षीलाई कार्यक्षेत्रमा खटाएर चुनावी रणनीति र जीतको आधार तयार गर्न खटाएको छ । आकांक्षीमध्येका एकले आफूहरूलाई पार्टीको आन्तरिक आचारसंहिता लागेकाले प्रतिक्रिया दिन नमिल्ने बताए । ‘पार्टीले एसाइन्मेन्ट दिएर खटाएको छ,’ उनले भने, ‘अहिले बोल्न मिल्दैन ।’
