परराष्ट्र मन्त्रालयका एक अधिकारीले चीन भ्रमणको तयारी प्रारम्भिक चरणमा रहेको र तयारी पूरा भएपछि औपचारिक जानकारी गराइने बताए ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएको छ । तियानचिनमा १५ र १६ भदौमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन ओली जाने भएका हुन् । उनी १४ भदौमा बेइजिङ प्रस्थान गर्नेछन् ।
बेइजिङस्थित नेपाली राजदूत कृष्णबहादुर ओलीले प्रधानमन्त्रीको भ्रमणको गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको जानकारी दिए । परराष्ट्र मन्त्रालयका एक अधिकारीले चीन भ्रमणको तयारी प्रारम्भिक चरणमा रहेको र तयारी पूरा भएपछि औपचारिक जानकारी गराइने बताए ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको भेटवार्ता हुने सम्भावना छ । मोदी पनि शिखर सम्मेलनमा एससीओ सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी हुँदै छन् । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले गत शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एससीओ शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गरिने जानकारी दिएका थिए । ‘शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेता र १० अन्तर्राष्ट्रिय संगठनका प्रमुख सहभागी हुनेछन्,’ उनले भनेका थिए ।
नेपाल एससीओको ‘डाइलग पार्टनर’ मुलुक हो । पछिल्लो पटक प्रधानमन्त्री भएपछि ओलीको यो दोस्रो चीन भ्रमण हुनेछ । गत वर्ष मंसिर तेस्रो साता उनले चीनको औपचारिक भ्रमण गरेका थिए । त्यति बेला दुई मुलुकबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको थियो । तर बीआरआई परियोजनाहरू अघि बढेका छैनन् ।
प्रधानमन्त्री ओलीले ३१ भदौदेखि भारत भ्रमण गर्ने तयारी पनि हुँदै छ । भारतीय समकक्षी मोदीको निमन्त्रणामा भ्रमणमा जान लागे पनि त्यसको औपचारिक घोषणा हुन बाँकी छ । भ्रमण तयारीका लागि भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुग्दै छन् ।
