पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैंचामा विशेष सांस्कृतिक कार्यक्रम गर्दै नेपालस्थित भारतीय दूतावासले स्वतन्त्रता दिवस मनाएको हो ।
काठमाडौँ — नेपालस्थित भारतीय दूतावासले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भारतको ७९ औं स्वतन्त्रता दिवस मनाएको छ । पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैंचामा विशेष सांस्कृतिक कार्यक्रम गर्दै दूतावासले स्वतन्त्रता दिवस मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले भारतलाई नेपालकातर्फबाट स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरे । ‘नेपाल र भारत सम्बन्ध विशेष प्रकारको छ । खुला सिमाना र रोटीबेटीको सम्बन्ध मात्र होइन धार्मिक, सांस्कृतिकसहित राजनीतिक सम्बन्ध पनि छ ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले भारत स्वतन्त्रताको आन्दोलनसँग नेपालमा प्रजातन्त्र स्थापनाको सम्बन्ध जोडिएको चर्चा गदै नेपाल भारत सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिइन् । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारत पछिल्लो समय नेपालले भारतमा विद्युत् बिक्री गरेर आर्थिक लाभ लिइरहेको भन्दै आगामी दिनमा अझै धेरै लाभ लिन सक्ने बताए ।
कार्यक्रममा भारतबाट आएको कलाकारहरुको समूहले कथ्थक नृत्य प्रस्तुत गरेको थियो ।
