उत्तराखण्ड बाढीपहिरो : २१ नेपालीको अवस्था अझै अज्ञात

बेपत्ता खोजीका लागि उत्खनन् गरिँदै, खोज्न नसके मृत्युदर्ता गरिदिन बेपत्ताका आफन्तको माग

श्रावण २९, २०८२

कमल पन्थी, भवानी भट्ट

Uttarakhand landslide: The condition of 21 Nepalis is still unknown

What you should know

कञ्चनपुर र बर्दिया — भारत उत्तराखण्डको काशीपुर र पौडीगढवाल जिल्लामा क्लाउड ब्रस्ट (आरी घोप्टे) वर्षा पनि आएको बाढी तथा पहिरोमा परी २६ जना नेपाली बेपत्ता भएका छन् । काशीपुर जिल्लाको धरालीमा बाढीमा परेर २१ जना बेपत्ता भएका छन् भने पौडीगढवालका बंकुरामा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् ।

दिल्लीस्थित नेपाली दुतावासका अनुसार धरालीमा बेपत्ता हुनेमा जनक बहादुर शाही, रवि सिंह, करण बहादुर सिंह, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, राम बहादुर शाही, हरि बहादुर खडका, प्रभाती, केशव, निर्मला खडका, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् । यसैगरी दिपक मगर, सुरज राना, मान बहादुर, नीम बहादुर, रवि सिंह र राम बहादुर रहेको दुतावासले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । बेपत्ता भनिएका मध्ये अधिकांश जाजरकोटबाट सम्पर्कमा नआएका भनिएकाहरुको नामसँग मिल्दो छ । तर नाम र ठेगाना पूर्ण नहुँदा एकिन भन्न सकिने अवस्था भने छैन ।

यसैगरी पौडीगढवालको लैलीसैण ब्लकको बंकुरा गाउँमा अघिल्लो बुधबार पहिरोमा परी बर्दियाको मधुवन नगरपालिका–६ का नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या र छोरा रोमन सँगै सोही वडाका अमृता परियार र बर्दियाकै गुलरिया नगरपालिका–४ का सुवास दमाई बेपत्ता छन् ।

पहिरोमा बेपत्ता भएकाहरुको खोजीका लागि आफन्तहरु गढवाल पुगे पनि नभेटिएपछि घर फर्किएका छन् । उनीहरु घर फर्केर किरियामा बसेका छन् । ‘अब भेटिने सम्भावना नदेखेपछि घर फर्केर किरियामा बसेका हौं,’ नरेन्द्रका काका उत्तमले भने, ‘उताबाट खोजी भइरहेको छ भन्छन्, तर भेटिएलान् भन्ने आश छैन ।’ ‘एनडीआरएफ र एसडीआरएफको टीम हाम्रो क्याम्पनजिकै घर भाडामा लिएर बसेको छ,’ पौडीगढवालमा रहेका बर्दियाकै चित्रबहादुर पौडेलले भने, ‘एक महिनासम्म खोजी गर्ने भन्छन्, बिहीबार पनि सिन्धु नदीको किनारमा खोजी गरिरहेका थिए ।’ उक्त क्षेत्रमा रहेका नेपालीहरु भने खोजीमा जान छाडेको उनले बताए । आफन्तहरु घर फर्किए अरु कोही बिरामी भएको र कोही काममा लागेको उनले बताए ।

उत्तराखण्डको सरकारको आपदा प्रबन्धन प्राधिकरणले धरालीको बाढमा कम्तीमा ६८ जना बेपत्ता भएको जनाएको छ । जसमा २५ जना नेपाली रहेको उल्लेख गरेको छ । तर उक्त २५ जनामा पौडीगढवालको पहिरोमा परी बेपत्ता भएका ४ जनाको समेत नाम समावेश गरिएको छ । ‘धराली क्षेत्रमा बेपत्ताको खोजीका लागि उत्खनन्को काम भइरहेको छ, कुकुर समेत परिचालन गरिएको छ,’ आपदा प्रबन्धन प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘आठ स्थानमा उत्खनन्को काम भइरहेको छ, तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ ।’ हालसम्म १ हजार ३ सय ८ यात्रु र स्थानीयको उद्धार गरिएको छ । प्राधिकरणले भने हालसम्म १ जना स्थानीयको शव भेटिएको जनाएको छ ।

उद्धारका लागि एनडीआएरएफ, एसडीआरएफ, सेना र प्रहरीको टीम परिचालन भएको छ । यसका साथै स्थानीय प्रशासन पनि खोज उद्धारमा खटिएको छ । उद्धारका लागि चिनुक हेलिकप्टर परिचालन गरिएको छ । उद्धार गरेर धराली क्षेत्रमै राखिएकाहरुलाई भने सामुदायिक भान्सा सञ्चालन गरिएको छ । उक्त भान्सामा नेपालीहरु समेत रहेका छन् । दुतावासका अनुसार १३ जना नेपालीको उक्त क्षेत्रबाट उद्धार गरिएको छ । ‘अहिलेसम्म उत्तराखण्डमा बेपत्ताको सख्या २६ र उद्धार गरिएकाहरुको संख्या १३ उपलब्ध भएको छ,’ दिल्लीस्थित नेपाली दुतावासका काउन्सिलर प्रकाश मल्लले भने, ‘खोजी तथा उद्धारका काम अहिले पनि जारी छ, पछिल्लो समय फोन सेवा सुचारु भएपछि खोजी झनै तीब्र पारिएको छ ।’ उनका अनुसार धराली क्षेत्रमा उद्धार गरिएका नेपालीहरु सोही क्षेत्रमा सुरक्षित स्थानमा राखिएको छ । उनीहरुका लागि खानाका लागि सामुदायिक भान्साको व्यवस्था गरिएको छ ।’

गत साता धराली क्षेत्रमा क्लाउड ब्रष्टपछि खीरगंगा नदीमा आएको भीषण बाढीले धराली बजार तहसनहस गरेको थियो । उक्त बजारमा रहेको घर तथा होटलहरु पुरिएका छन् भने कतिपय बगाएर भागिरथी नदीमा लगेको थियो । तिनै होटेल तथा घरमा बसेकाहरु अहिले बेपत्ता भएका हुन सक्ने अनुमान गरिएको छ । धराली गंगोत्री मार्गमा पर्ने अन्तिम बजार हो । गंगोत्री यात्रामा जानेहरु यहाँ होटलमा बास बस्ने तथा बिश्राम गर्ने गर्छन् । यतिबेला गंगोत्री यात्रामा जाने सिजन पनि हो । गंगोत्री यात्रामा जानेहरु समेत धरालीको बाढीमा परेको हुन सक्ने अनुमान गरिएको छ ।

खोज्न नसके मृत्युदर्ता गरिदिन बेपत्ताका आफन्तको माग

गुलरिया नगरपालिका–२ संगमबस्तीका सोमबहादुर दमाईले उत्तराखण्डको पौडी गढवालमा साउन २१ गते पहिरोमा परी बेपत्ता भएका छोरा सुवासको नौ दिनको किरिया बिहीबार सके । दमाई घटना लगत्तै पौडी गढवाल गएका थिए । चार दिन घटनास्थलम आसपास खोज्दा छोराको पाइन्ट फेला परेको दमाईले बताए । जिवित भेटिने आश नभएपछि घर फर्केर किरिया गरेको उनले बताए । सडक निर्माणको काममा मजदुरी गर्न गएका बर्दियाका ५ जना पौडी गढवालको सिन्धु खोलानजिक बाकुडामा पहिरोमा परी बेपत्ता भएका छन् । सरकारले खोजीका लागि भारत सरकारसँग पहल गर्नुपर्ने नभए मृत्यु दर्ता गरिदिनुपर्ने उनीहरुको माग छ । सुकुम्बासी बस्तीमा बस्दै आएका दमाइले गडवालमै रहेका नेपाली कामदारहरुका अगुवा चित्रबहादुर पौडेलले बाटो खर्च वापत १० हजार भारुबाट बचेको रकमले किरिया गरेको बताए । गुलरिया–२ का वडाध्यक्ष टंकप्रसाद अधिकारीले मृत्युदर्ता प्रमाणित नभएसम्म राहतलगायतका सुविधा दिन नमिल्ने बताए । भारत सरकारले मृत्यु भएको प्रमाणित गरे राहतका लागि पहल गर्ने उनले जनाए । विपद्का घटनामा परेर मृत्यु दर्ता भए उत्तराखण्ड सरकारले ५ लाख भारतीय रुपैयाँ सहयोग गर्छ ।

तीन वर्षअघि मजदुरी गर्न भारतको पञ्जाव, कुमाउ, रामनगर पुगेका सुवास घटना भएको २९ दिनअघि मात्रै पौडी गढवाल पुगेका थिए । दमाइ परिवार ०५८ मा बर्दियाको खैरी चन्दनपुरबाट वन क्षेत्रमा रहेको संगम बस्तीमा झुपडी बनाएर बस्दै आएको छ । मधुवन–६ गाउँ नम्बर ४ का ३९ वर्षीय नरेन्द्र खड्का, ३२ वर्षीया श्रीमती सरस्वती र २२ महिनाको छोरा रोमन पनि पाँच दिन खोजी गर्दा फेला नपरेपछि सोमवारदेखि काका उद्धवले किरिया गरिरहेका छन् । नरेन्द्रका बाबु चुडामणिले मृत्युदर्ता नभएका कारण राज्यको राहतबाट बञ्चित हुनुपर्ने अवस्था आउने बताए । ‘घटनास्थल नजिकै छोराको हात भेटिएकोले तीनै जना बाँचेको जस्तो छैन, कम्तीमा नेपाल सरकारले भारतसँग पहल गरेर मृत्यु घोषणा गर्नु पर्‍यो नत्र जिवित देखाउनु पर्छ,’ उनले भने ।

मधुवन–६ गाउँ नम्बर ८ का रामु परियारकी श्रीमती अमृता पहिरोमा बेपत्ता भएपछि भेटिन आश मारेपछि सोमबारदेखि छोरा अजय र बुहारी विमला किरियामा छन् । रामुकी छोरी पुजाले मजदुरी नगरी घर खर्च नचल्ने परिवारमा यो घटनापछि बिजोग भएको बताइन् । मधुवन नगर प्रवक्ता एंव वडाध्यक्ष मेकबहादुर गुरुङले कानुनी जटिलताले मृत्यु भएको प्रमाण नभएसम्म राहतलगायतका सुविधा दिन समस्या भएको बताए । ‘पहिरोमा बाँचेका जस्तो त छैन, मानवीय नाताले कार्यपालिकाको बैठकमा छलफल गरी यसबारे निर्णय लिने छौं,’ उनले भने ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully