गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि दक्षिण कोरियाले ९० लाख डलर अनुदान दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
What you should know
काठमाडौँ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।
बिहीबार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सार्वजनिक पूर्वाधारको सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायकमार्फत खरिद गर्न निर्देशिका स्वीकृत गरेको जानकारी दिए ।
उनका अनुसार बैठकले दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालय पूर्वाधार विकासका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करिब १ अर्ब २५ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गरेको छ । उनले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३,४६३.८१ र मध्यम धानको ३,६२८.३३ तोकिएको पनि जानकारी दिए ।
अरू यस्ता छन् सोमवारको मन्त्रिपरिषद् बैठकका बाँकी निर्णयहरू—
१. 'अ स्टडी टुर अन इन्टर–गभर्मेण्टल कर्पोरेशन एन्ड कम्पिटिटिभ इन द स्विस फेडेरल सिस्टम' विषयक कार्यक्रममा सहभागी हुन २०८२ भदौ १५ देखि २१ गतेसम्म मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको स्वीट्जरल्यान्ड भ्रमण स्वीकृत गर्ने ।
२. २०८२ असोज ६ गतेदेखि १० गतेसम्म फिलिपिन्समा आयोजना हुने 'एसियन अर्गनाइजेशन अफ सुप्रिम इन्स्टिट्युशन ब्रोकेरिङ अप्सक्याल्ड एसएआई सपोर्ट' कार्यशालामा सहभागी हुन उपमहालेखापरीक्षक बिन्दु विष्टलाई स्वीकृति दिने ।
३. दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने ।
४. आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको प्रति क्विन्टल रु. ३,४६३.८१ र मध्यम धानको प्रति क्विन्टल रु. ३,६२८.३३ न्यूनतम समर्थन मूल्य तोक्ने ।
५. २०८२ भदौ ३१ देखि असोज २ गतेसम्म गणतन्त्र कोरियाको सिओल सहरमा आयोजना हुने 'ग्लोबल इन्फ्रास्ट्रक्चर कंप्रेसन कन्फरेन्स २०२५' कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने ।
६. राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा. रमेशप्रसाद चौलागाईं, भक्तपुरलाई नियुक्त गर्ने ।
७. नेपाल सरकारको नाममा दर्ता कायम रहेको बाजुरा जिल्ला साविक बाँधु गा.वि.स. वडा नं. ४ को ७,४८५ वर्ग मिटर सरकारी प्रकृतिको जग्गा प्रशासकीय भवन निर्माणका लागि हिमाली गाउँपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने ।
८. नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको तेह्रथुम जिल्ला साविक म्याङलुङ गा.वि.स. वडा नं. ९ को ०–१४–०–२ जग्गा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय तेह्रथुमको कार्यालय भवन निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने ।
९. बाजुरा जिल्ला साविक बाँधु गाविस वडा नं. ४ को २३,०५५ वर्ग मिटर जग्गा धुलाचौर स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि हिमाली गाउँपालिका, बाजुरालाई प्रयोग गर्न स्वीकृति दिने ।
१०. २०८२ भदौ २४ देखि २६ गतेसम्म फिलिपिन्सको मनिलामा आयोजना हुने 'मिनिस्ट्रियल राउण्डटेबल सेसन ड्रइङ द एशिया प्यासिफिक रिजनल रोड सेफ्टी कन्फरेन्स' मा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई स्वीकृति दिने ।
११. नेपाली सेनाका एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने र एक जना सहायक रथीको पदावधि थप गर्ने ।
१२. 'स्कुल मिल्स कोएलिसन' को आयोजनामा ब्राजिलको फोर्टालेजामा २०८२ असोज २ देखि ३ गतेसम्म आयोजना हुने 'सेकेन्ड ग्लोबल समिट अफ द स्कुल मिल्स कोएलिसन' मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई स्वीकृति दिने ।
१३. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (भैंसेपाटी), व्यावसायिक प्रशिक्षण केन्द्र (बुटवल) र व्यावसायिक प्रशिक्षण केन्द्र (इटहरी) का लागि आ.व. २०८२/८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
१४. २०८२ असोज ७ देखि १७ गतेसम्म क्यानाडाको मोन्ट्रियलमा आयोजना हुने 'इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेशनको फोर्टी–सेकेन्ड अफ द एसेम्ब्ली' मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति दिने ।
१५. राष्ट्रिय समाचार समितिको रिक्त महाप्रबन्धक पदमा सन्दीप राई, पाँचथरलाई नियुक्त गर्ने ।
१६. सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने र सेवा प्रदायकमार्फत सार्वजनिक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मत सेवा खरिद गर्ने सम्बन्धी निर्देशिका, २०८२ स्वीकृत गर्ने ।
१७. नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने
कार/भ्यान: काठमाडौँ आउँदा रु. ६५, जाँदा रु. ६०
मिनीबस/मिनिट्रक: काठमाडौँ आउँदा रु. ११५, जाँदा रु. ८०
बस/ट्रक: काठमाडौँ आउँदा रु. २६०, जाँदा रु. २००
भारी उपकरण: काठमाडौँ आउँदा रु. ६००, जाँदा रु. २५०
१८. राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गर्ने ।
