नेपालको जलविद्युत् विकासमा योगदानका लागि घिसिङले बेलायती सांसदलाई धन्यवाद दिँदै थप सहयोगको लागि आग्रह गरेका छन्।
What you should know
लण्डन — बेलायत भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले भूतपूर्व गोर्खा सैनिकका समान पेन्सन लगायतका समस्या समाधान गर्न ब्रिटिस सांसद एलेक्स बेकरमार्फत सरकारसँग आग्रह गरेका छन् ।
सत्तारुढ लेबर पार्टीकी सांसद तथा 'अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपाल' (एपीपीजी) की अध्यक्ष बेकरसँगको बुधबारको भेटवार्तामा घिसिङले ब्रिटिस इन्जिनियरहरूको नेतृत्वमा १ सय १४ वर्ष पहिले फर्पिङस्थित नेपालको पहिलो विद्युत परियोजना सम्पन्न भएको स्मरण गर्दै जलविद्युत् लगायत नेपालको विकासमा निरन्तर सहयोगका लागि बेलायतलाई धन्यवाद दिए। उनले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिउँ पग्लिरहेका कारण नेपाल लगायत दक्षिण एसियामै गम्भीर चुनौती बढिरहेकाले ब्रिटिस सरकारको सहयोगका लागि आग्रह पनि गरे।
भेटमा घिसिङले भूतपूर्व गोर्खा सैनिकका समस्या जतिसक्दो चाँडो समाधान गर्न ब्रिटिस सरकारसँग पहल गर्न पनि सांसद बेकारलाई आग्रह गरेका हुन् । उनले सुशासन, समृद्धि र आशा जगाउन आफूले 'उज्यालो नेपाल' अभियान सुरु गरेको जनाउँदै सोही क्रममा खाडी मुलुक, अमेरिका र बेलायतको भ्रमण गरिरहेको बताए।
उक्त अवसरमा सांसद बेकरले घिसिङलाई बेलायतमा स्वागत गर्दै उज्यालो नेपाल बनाउन उनको योगदानको प्रशंसा गरिन्। उनले भूतपूर्व गोर्खा सैनिक युके नेपाल सम्बन्धको जग भएको जनाउँदै भूतपूर्व गोर्खा सैनिकका माग पूरा गराउन आफूले हरसम्भव पहल गरिरहेको जनाइन्। उनले जलवायु परिवर्तनले हिमाली मुलुकलाई पुर्याइरहेको असरबारे चिन्ता व्यक्त गर्दै एपीपीजीको माध्यमबाट ब्रिटिस सरकारको ध्यानाकर्षण गर्ने बताइन्। उनले बेलायतमा नेपाली डायस्पोराको योगदानको प्रशंसा गर्दै खासगरी युवा नेपाली पुस्ताले हरेक क्षेत्रमा प्रगति गरिरहेको जनाइन्।
भेटवार्तामा नेपाल-बेलायत गोर्खा मुद्दाका एक जना वार्ताकार सेवानिवृत्त मेजर जुदबहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ, व्यवसायी एलएन पाण्डेसमेत उपस्थित थिए।
अमेरिकाको दुइ साता लामो भ्रमण सकेर घिसिङ सोमबार लन्डन आइपुगेका हुन् । हिथ्रो विमानस्थलमा उनलाई तमु धिं यूके, एनआरएनए युके लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले स्वागत गरेका थिए।
एनआरएनए युकेका दुवै समूहले घिसिङसँग अन्तर्क्रिया गर्न लागेका छन् भने उनी २४ अगष्टमा तमु धीं युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा विशिष्ट पाहुनाका रुपमा सहभागी हुनेछन् ।
यसअघि अमेरिकामा रहँदा उनले टेक्सास, मिसिगन, वासिङ्टन डीसी लगायतका राज्यमा विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी भई प्रवासी नेपाली समुदायसँग अन्तर्क्रिया गरेका थिए।
न्युयोर्कमा उनी लगायत अन्य अभियन्तालाई हामी नेपाली ग्लोबल संस्थाले 'ग्लोबल हिरो अवार्ड' ले सम्मान गरेको थियो। उनले न्युयोर्कमै अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको १८ औं सम्मेलनलाई सम्बोधन गरेका थिए। त्यस्तै उनले बोस्टनमा हार्वर्ड विश्वविद्यालय तथा एमआईटीमा आबद्ध नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरूसँग पनि छलफल गरेका थिए।
जम्मा चार महिना मात्रै कार्यकाल बाँकी रहेका घिसिङलाई नेपाल सरकारले गत चैत महिनामा पदबाट बर्खास्त गरेपछि उनले केही समय काठमाडौँमै भेटघाटमा बिताएका थिए। त्यसपछि गत महिना बहराइन पुगेका उनले त्यहीँबाट 'उज्यालो नेपाल अभियान' सुरु गर्ने घोषणा गरेका थिए।
