न्याय परिषद्ले साउन २२ गते उच्च अदालतका २७ जना न्यायाधीशहरु सिफारिस गरेको थियो।
काठमाडौँ — उच्च अदातलका न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उच्च अदालतमा सिफारिस भएका २७ न्यायाधीशले शपथ लिएका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार नियुक्त भएका न्यायाधीशहरुलाई शपथ गराएका हुन् ।
न्याय परिषद्ले २२ गते जिल्ला न्यायाधीश, कानुन व्यवसायी र न्याय तथा कानुन समूहका अधिकृतलाई समावेश गरी न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको थियो । परिषद्ले गरेको सिफारिसमा १६ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी र न्याय तथा कानुन सेवा र सरकारी वकिलबाट पाँच जनाको नाम सिफारिस गरेको थियो ।
परिषद्ले सिफारिस लगत्तै उनीहरुको पदस्थापन पनि गरेको थियो । न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलास, धादिङ जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलालाई उच्च अदालत पाटन, ओलखढुङ्गाका जिल्ला न्यायाधीश गिरीराज गौतमलाई उच्च अदालत दीपायल, महेन्द्रनगर इजलासमा नियुक्त गरी पदस्थापन गरेको थियो ।
गुल्मीका जिल्ला न्यायाधीश युवराज गौतमलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गा, दाङका जिल्ला न्यायाधीश तेजनारायण पौडेललाई उच्च अदालत तुलसीपुरको बुटवल इजलास, पर्वतका जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानालाई उच्च अदालत पाटन, उदयपुरका जिल्ला न्यायाधीश दीपककुमार खरेललाई उच्च अदालत पाटनमा नियुक्त गरी पदस्थापना गरिएको थियो ।
गोरखाका जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटलाई उच्च अदालत पाटन, काठमाडौंका जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेललाई उच्च अदालत जनकपुर, भक्तपुरका जिल्ला न्यायाधीश वासुदेव न्यौपानेलाई उच्च अदालत पाटन, पाल्पाका जिल्ला न्यायाधीश दलबहादुर केसीलाई उच्च अदालत तुलसीपुर, नेपालगन्व इजलास, कपिलवस्तुका जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीलाई उच्च अदालत दीपायल, चितवनका जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीलाई उच्च अदालत पाटनमा नियुक्ति गरिएको थियो ।
त्यस्तै, मोरङका जिल्ला न्यायाधीश उदयप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगर (धनकुटा इजलास), मकवानपुरका जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईलाई उच्च अदालत पाटन, उच्च अदालत पोखराका रजिष्ट्रार खड्गराज अधिकारीलाई उच्च अदालत दीपायल, उच्च सरकारी वकील कार्यालयका, पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीलाई उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगन्ज), सर्वोच्च अदालतका रजिष्ट्रार अच्युत कुइँकेललाई उच्च अदालत पाटन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कोमलबहादुर खत्रीलाई उच्च अदालत सुर्खेतमा नियुक्त गरिएको थियो ।
न्याय परिषद्ले कानुन व्यवसायीबाट शर्मिला थापा विष्टलाई उच्च अदालत पाटन (हेटौंडा इजलास), प्रतापसिंह ठकुराठीलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास), बालकृष्ण गैरेलाई उच्च अदालत पोखरा (बाग्लुङ इजलास), निशा बानियाँलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास), श्यामकुमार विश्वकर्मालाई उच्च अदालत दिपायल र अरुणकुमार पंजियारलाई उच्च अदालत विराटनगर (अस्थायी इजलास ओखलढुङ्गा) मा नियुक्ति गरिएको थियो ।
यसरी पदस्थापन र शपथ लिएका न्यायाधीशहरुलाई राष्ट्रिय न्यायीक प्रतिष्ठानले एक महिने न्याय सम्पादन तालिम दिएर कार्यक्षेत्रमा पठाउने छ ।
