मन्त्री खड्काका अनुसार निर्यातबाट १७ अर्ब ७२ करोड र आयातमा १२ अर्ब ९२ करोड खर्च, पाँच अर्ब मुनाफा।
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनी फैलाइएको हल्ला निरर्थक भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन् ।
मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ । विद्युत् विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तीव्रताका साथ अगडि बढाइरहेको समेत उनले दाबी गरे ।
सरकारले विद्युत् निर्यातको माध्यमबाट पाँच अर्ब बराबर मुनाफा भइरहेको मन्त्री खड्काले बताए । ‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौं । झन्डै ५ अर्ब रुपैयाँबराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ,’ उनले भने ।
