कारागारमा तनावपछिको सुरक्षा स्थायित्वका लागि प्रमुख जिल्ला अधिकारीद्वारा निरीक्षण। बन्दी र परिवारबीच भेटघाटको व्यवस्था समेत गरिएको छ।
What you should know
काठमाडौँ — गृहमन्त्री रमेश लेखकले साउन २२ गते कैलाली कारागारमा भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको जानकारी दिएका छन् ।
बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनाइएको बताए। समितिले तोकिएको अवधिभित्र प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाहीसहित आवश्यक कार्य हुने पनि उनले स्पष्ट पारे।
साउन २२ गते राति भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएका थिए। तीमध्ये अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइएको छ । दुई जनाको उपचार ट्रमा सेन्टरमा र एक जनाको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। चार जनालाई उपचारपछि पुनः कारागार पठाइएको छ भने बाँकी ४१ जना अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। मृतक बन्दीको शव कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको छ।
कैलाली कारागारमा हाल पुरुष ब्लक ‘ए’ र ब्लक ‘बी’ गरी ६४३ जना पुरुष र एक ब्लकमा ४७ जना महिला बन्दी छन्। घटनाको रात दुई ब्लक छुट्याउने पर्खाल तोडफोड गरी कैदीबन्दीहरूले ब्लक ‘बी’ मा पुगेर त्यहाँका बन्दीलाई कुटपिट गरेको विवरणमा उल्लेख छ।
घटनापछि द्वन्द्वमा संलग्न समूहका १७ जना नेतृत्वकर्तालाई अन्यत्र स्थानान्तरण गरिएको, कारागारभित्र अवैध सामान छ/छैन पत्ता लगाउन दुई पटक विशेष खानतलासी गरिएको र प्रमुख जिल्ला अधिकारीद्वारा कारागार निरीक्षण गरी शान्ति–सुरक्षा कायम गर्न बन्दीलाई सम्झाइएको गृहमन्त्रीले जानकारी दिए।
उनका अनुसार अहिले कारागारको अवस्था सामान्य छ र सुरक्षाकर्मीको पर्याप्त उपस्थिति सुनिश्चित गरिएको छ। बन्दीका परिवारसँग भेट गराई उनीहरूको अवस्थाबारे जानकारी गराइएको छ। समितिको प्रतिवेदन प्राप्त भएपछि दोषीमाथि कानुनी कारबाही हुने पनि गृहमन्त्रीले बताए ।
