केरुङमा बस्दै आएका १६९ जना नेपालीलाई तातोपानी हुँदै स्वदेश ल्याइँदै

भोटेकोशीको बाढीपछि घर फर्कन नपाएका उनीहरुलाई काठमाडौँ हुँदै रसुवा लैजाने तयारी गरिएको तातोपानीस्थित सीमा प्रहरी कोदारीले जानकारी दिएको छ ।

श्रावण २८, २०८२

ऋषिराम पौड्याल

169 Nepalis living in Kerung are being brought home through Tatopani

What you should know

काठमाडौँ — भोटेकोशीको बाढीले रसुवाको मितेरी पुल बगाएपछि घर फर्कन नपाएका १६९ जना नेपालीलई बुधबार तातोपानी नाका हुँदै नेपाल ल्याइँदैछ । नेपाल र चीन सरकार, स्थानीय प्रशासन र सरोकारवाला निकायको पहलमा तिब्बतको केरुङबाट नेलाम हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका भएर काठमाडौं लैजाने योजना रहेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार केरुङमा विभिन्न पेशा गरी बसेको नेपालीहरु बिरामी पर्न थालेको र कतिपयले अब घर फर्कन पाइँदैन कि भन्ने चिन्ता समेत व्यक्त गरेपछि नेपाल ल्याउने व्यवस्था गरिएको हो । पौडेलका अनुसार नेपाल फर्कनेमध्ये धेरै जना रसुवाका रहेका छन् । नेपाल आउनेहरुलाई गाडी चढाएपछि १६९ जना रहेको जानकारी पाएको उनले बताए । सुरुमा १८१ जनाले नेपाल आउन नाम टिपाए पनि केही उतै बसेको उनले बताए । 

भूकम्पछि तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि रसुवा नाकाबाट व्यापारिक कारोबारमा तीव्रता आएको थियो । केरुङमा पर्यटन, होटल जस्ता व्यवसाय गरेर लामो समयदेखि बसेकाहरु नेपाल फर्कन लागेका हुन् । रसुवाको मितेरी पुल भत्केपछि नेपाल फर्कने बाटो तातोपानी नाका मात्र भएकाले चीन सरकारले उनीहरुलाई गाडीको व्यवस्था गरेर नेलाम हुँदै तातोपानी मितेरी पुल ल्याउन लागेको हो ।

सिन्धुपाल्चोकको प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरुलाई चीन सरकारले नै व्यवस्थापन गरे बेलुकीसम्म सीमासम्म ल्याउने छ ।

सवारी साधनको व्यवस्था मिलाएर उनीहरुलाई काठमाडौँ हुँदै रसुवा लैजाने तयारी गरिएको जानकारी तातोपानीस्थित सीमा प्रहरी कोदारीका निरीक्षक जगत राईले जानकारी दिए । उनका अनुसार उनीहरुलाई २ देखि ३ बजेभित्र मितेरी पुलमा ल्याइने छ ।

नेपालतर्फका कोदारी अध्यामगन कार्यालय, स्थानीय प्रशासनका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जिम्मा लिनेछन् । चीनका सरकारी अधिकारीहरुले उनीहरुलाई नेपाललाई बुझाउने योजना बनाएका छन् । गत ७ गते पनि चीनले २०३ जना नेपालीलाई अहिलेकै प्रक्रियामा तातोपानी नाकामा ल्याएका थिए । त्यतिबेला धेरै नेपाली चालक, सहचालक, व्यापारिक फर्मक कर्मचारीलगायतका थिए । 

ऋषिराम पौड्याल

Link copied successfully