'कुलिङ अफ पिरियड' मा छलछाम : राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा दिने मनस्थितिमा खतिवडा

एमाले र कांग्रेसका सांसदहरूले खतिवडा सभापतिबाट राजीनामा दिने विषयमा सभामुख देवराज घिमिरेसँग पनि कुरा गरेको बताए ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

Cheating in 'cooling off period': Khatiwada is in the mood to resign from the chairmanship of the Rajya Sabha.

What you should know

काठमाडौँ — प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिने मनस्थितिमा पुगेका छन् । संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे 'कुलिङ अफ पिरियड' को प्रावधानमा छलछाम गरिएको सम्बन्धमा सभापति खतिवडा राजीनामाको मनस्थितिमा पुगेका हुन् ।

निजामती र सरकारी कर्मचारीले अनिवार्य अवकाश वा राजीनामा दिएर सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति लिन नपाउने गरि समितिले 'कुलिङ अफ पिरियड'को व्यवस्था पारित गरेको थियो । तर, विधेयकको प्रतिवेदन लेखनका क्रममा समितिले सर्वसम्मत पारित गरेको प्रावधान खण्डित हुने व्यवस्था कायमै राखिएको थियो ।

'कुलिङ अफ पिरियड'को व्यवस्था उल्ट्याउन मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सरकारका सचिवहरू प्रधानमन्त्री केपी ओलीदेखि शीर्ष राजनीतिक नेतृत्वलाई दबाब दिन खुलेआम लागेको थियो ।

समितिले पारित गरेको विधेयक प्रतिनिधिसभाले पारित गरेपछि 'कुलिङ अफ पिरियड' को व्यवस्थामा छलछाम भएको सार्वजनिक भएको थियो । उक्त छलछाम कसले गरेको भन्ने पत्ता लगाउन कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा संसदीय विशेष समिति गठन गरिएको थियो । उक्त समितिले राजनीतिक र नैतिक जिम्मेवारी सभापति खतिवडाले लिनुपर्ने छानबिन विशेष समितिको प्रतिवेदनमा लेखेको थियो । 

समिति सञ्चालनमा सत्तारूढ दलबाटै असहयोग भएको भन्दै सभापतिबाट राजीनामा दिने मनस्थितिमा खतिवडा पुगेका हुन् । एमाले र कांग्रेसका सांसदहरूले खतिवडाले सभापतिबाट राजीनामा दिने विषयमा सभामुख देवराज घिमिरेसँग पनि कुरा गरेको बताए । 

खतिवडाले सभामुख घिमिरेसँग संसदमा बोल्नका लागि विशेष समय मागेका छन् । उनले संसदमा बोलेर राजीनामा घोषणा गर्ने सम्भावना छ । खतिवडासँग कुरा गरेका सांसदहरूका अनुसार समिति चलाउन असहयोग भएपछि राजीनामा गर्ने मनस्थितिमा पुगेका हुन् । खतिवडाले भने सभामुखसँग बोल्नका लागि समय मागेको बताए । के विषय राख्नका लागि भन्ने उनले उल्लेख गरेनन् ।

कान्तिपुर संवाददाता

Link copied successfully