१२ वर्षपछि वेम्बलीमा फेरि गुन्जियो नेपथ्य

गायक अमृतले कन्सर्टमा गीत मात्र प्रस्तुत गरेनन्, गीत संकलनको अनुभव पनि सुनाए, नेपाली भाषा र संस्कृति जगेर्नाका लागि प्रेरित गरे, स्वदेशको महिमा बयान गर्दै विदेशिएका तन्नेरीलाई स्वदेशसँग जोड्ने किसिमको आह्वान पनि गरे ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

After 12 years at Wembley, it resonated again

What you should know

काठमाडौँ — बेलायतको प्रसिद्ध वेम्बली एरिनामा नेपाली ब्यान्ड नेपथ्यका गीतहरू फेरि एक पटक गुन्जिएका छन् । शनिबार बेलुकी १० हजार दर्शकमाझ नेपथ्यले भव्य प्रस्तुति दिएको हो । नेपथ्यले १२ वर्षअघि पनि वेम्बलीमै प्रस्तुति दिएको थियो । 

 शनिबार भएको कन्सर्टमा ब्यान्डले ‘कोशीको पानी’ बाट आफ्नो प्रस्तुति थाल्दै १८ वटा गीत पस्केको थियो । नेपथ्य स्थापना हुनुभन्दा निकै पहिले गायक अमृत गुरुङले यस गीतलाई कास्कीको याङ्जाकोटमा बस्दा रचेका थिए । गाउँमा बास दिने बाल्यकालका साथी पुस्कल गुरुङ यस गीतको रचनाका साक्षी पनि हुन् । लन्डनमा शनिबार अमृतले यो गीत गाइरहँदा दर्शकदीर्घामा पुस्कल पनि उपस्थित थिए ।

‘गाउँमा आफ्नै अघिल्तिर गितार बजाउँदै अमृतले तयार पारेको यस गीतले झन्डै ३५ वर्षपछि पनि लन्डनको यस्तो भव्य समारोहमा मेरै सामुन्ने यति दर्शक, श्रोतालाई मग्न बनाउँला भन्ने त कल्पनामा पनि थिएन,’ पुस्कलले भने, ‘वेम्बलीमा शनिबार इतिहास रचिएको छ । त्यो इतिहासको साक्षी बन्न पाउँदा म धन्य छु ।’

गायक अमृतले कन्सर्टमा गीत मात्र प्रस्तुत गरेनन्, गीत संकलनको अनुभव पनि सुनाए, नेपाली भाषा र संस्कृति जगेर्नाका लागि प्रेरित गरे, स्वदेशको महिमा बयान गर्दै विदेशिएका तन्नेरीलाई स्वदेशसँग जोड्ने किसिमको आह्वान पनि गरे ।

‘नेपाली गीतसंगीतलाई, नेपाली भाषालाई माया गर्ने केटाकेटीदेखि पाका उमेरका व्यक्तिसम्मको जनसागर उर्लेर आएको देख्दा नेपथ्यले ३५ वर्षदेखि गरेको साधना पुरस्कृत भएको महसुस भयो,’ गायक गुरुङले भने, ‘वेम्बलीमा यति धेरै सहभागी हुनु ठूलो इतिहास हो, नेपाली गीतसंगीतप्रतिको मायाले यो अवसर जुर्‍यो, यसले अझै गीत गाइरहूँ, अझै मेहनत गरिरहूँ भन्ने ऊर्जा दिएको छ ।’ 

काठमाडौंमा भन्दा बढी दर्शक परदेशको कार्यक्रममा उपस्थिति हुनुलाई आफूले नेपाली गीतसंगीतप्रतिकै सम्मानको रूपमा लिएको गुरुङले बताए । ‘नेपथ्यको लोकलयमा आधारित र नेपालीको माटोको सुवास बोकेको गीतसंगीतका कारण पनि युरोपका विभिन्न देशबाट दर्शकहरू कन्सर्टमा आउनुभएको हो जस्तो लागेको छ,’ उनले भने ।

हरेकजसो प्रस्तुतिमा दर्शकदीर्घाबाट ‘वान्स मोर’ आइरह्यो । नेपथ्यले यसअघिका कन्सर्टहरूमा दर्शकबाट ‘वान्स मोर’ आए पनि अस्वीकार गर्ने गरेको थियो । अन्तिम प्रस्तुति ‘रातो र चन्द्र सुर्जे’ प्रस्तुत गरेपछि ब्यान्ड मञ्चबाट बिदा हुने परम्पराजस्तै छ । तर, यस पटक नेपथ्यले दर्शकको ‘वान्स मोर’ अस्वीकार गर्न सकेन । तर शनिबार वेम्बलीमा दर्शकको अनुरोधलाई सम्मान गर्दै ब्यान्डले थप प्रस्तुतिका रूपमा ‘हिमाल चुचुरे’ सुनायो ।

कन्सर्ट हेर्न लन्डन सहरभन्दा निकै परका दर्शक पनि आएका थिए । तिनमा नेदरल्यान्ड्सदेखि सपरिवार आएका विल्को पनि थिए । हालै प्रकाशित नेपथ्यको जीवनी पुस्तकमा मेडिकल फिजिसिस्ट विल्कोबारे उल्लेख छ । गायक अमृतको स्वर सुक्दै गएपछि घाँटीको उपचारमा उचित सल्लाह सुझाव दिनेमध्ये विल्को पनि एक हुन् । १२ वर्षअघि वेम्बलीमै कन्सर्ट सकिएपछि ब्याकस्टेजमा अमृतले आफ्नो घाँटीले साथ दिन छाडेको हृदयविदारक अभिव्यक्ति दिँदा दुवै पुराना साथी एकअर्कालाई हेरेर भावुक बनेका थिए ।

‘तर यसपाला गजब भयो,’ शनिबारको कन्सर्ट हेरिसकेपछि विल्कोको प्रतिक्रिया थियो, ‘अमृतलाई उही पुरानै ऊर्जाका साथ मञ्चमा उफ्रँदै र नाच्दै गाइरहेको देख्दा खुसीको सीमा नै रहेन ।’ विदेशमा बसोबास गर्दै आएका नेपालीलाई उनीहरूको दैलोसम्मै लगिदिने अमृत र उनको टिमको योगदान प्रशंसनीय रहेको उनी बताउँछन् ।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

नेपालयका व्यवस्थापक किरणकृष्ण श्रेष्ठले वेम्बलीमा नेपथ्यले दिएको प्रस्तुतिले अर्को मानक बनाएको बताए । ‘विश्व प्रसिद्ध वेम्बलीमा नेपथ्यलाई उभ्याउने योजना १२ वर्षपहिले नै कोसेढुंगाका रूपमा सफल भइसकेको थियो,’ श्रेष्ठले भने, ‘आज फेरि नेपथ्यले यसै हलबाट पुरानो मानकलाई छिचोलेको मात्र छैन, सम्भवतः नेपाली संगीतकै इतिहासमा बन्द हलभित्र पहिलो पटक यति धेरै दर्शक जुटाउन सफल भएका छौं ।’

नेपथ्यको वेम्बली यात्रा बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले आयोजना गरेका हुन् । ‘शो हेर्ने १० हजार दर्शकका लागि आजको साँझ जीवनकै अविस्मरणीय बनेको छ,’ आयोजक टोलीका दीपेन्द्र लामाले बताए, ‘वेम्बलीमा नेपथ्यको इतिहास यसरी भव्यतासाथ पुनर्लेखन गर्न सहयोग गर्नुभएका सबैप्रति आभार प्रकट गर्छु ।’

वेम्बली एरिनामा प्रस्तुतिलगत्तै नेपथ्य टोलीले अब युरोपको शृंखला यात्रा गर्दै छ । त्यस क्रममा अगस्ट २३ मा डेनमार्कको राजधानी कोपेनहेगनमा नेपथ्य प्रस्तुत हुनेछ । त्यसपछि २७ तारिखमा माल्टाको आटार्ड, ३१ तारिखमा पोर्चुगलको लिस्बन हुँदै अन्तिममा सेप्टेम्बर ३ मा बेल्जियमको एन्थ्रोपेन सहरमा प्रस्तुत भएर यात्रा टुंगिनेछ । नेपथ्यले आगामी कन्सर्ट बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, इटाली, अस्ट्रिया लगायतका देशमा हुने जनाएको छ ।

कान्तिपुर

Link copied successfully