आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय : गृहमन्त्री

गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको भन्दै आमालाई नै जिम्मेवार बनाइएको बताएका छन् ।

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

Mother's self-declaration to provide citizenship to children is the main goal: Home Minister

What you should know

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकतासम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधयेक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिए । 'सन्तानको पहिलो संरक्षक आमा नै हुन् । आमाले यो मेरो सन्तान हो, त्यसको बुवाको पत्तो छैन अथवा म ल्याउन सक्दिन भनेर स्वघोषणा गरेको अवस्थामा त्यस्ता सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ,' गृहमन्त्री लेखकले भन्नुभयो, 'यसले आमा/महिलाको मात्रै हक स्थापित गरेको होइन । संविधानको सीमारेखा भित्र महिलाको हकलाई पूर्णमा स्थापित गर्ने उद्देश्य पनि हो । सन्तानको पनि हक सुरक्षित गरिएको छ ।' 

आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्था समेत गरिएको उनले बताए । 

अंगीकृत नेपाली नागरिकता प्राप्तिसम्बन्धी व्यवस्थामा बाबुका आधारमा विदेशको नागरिकता नलिएको भनेर नागरिकता प्राप्त गर्ने व्यक्तिले मात्र स्वघोषणा गर्ने व्यवस्था भएकामा निजको आमाले समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री लेखकले जानकारी दिए ।

'बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको छ,' लेखकले भने, 'आमाको नामबाट नागरिकता पाउने कुरालाई हामीले अहिले सरलीकृत गरेका छौं ।'

आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट सरकारलाई निर्देशात्मक आदेश भएको अवस्थामा विधेयक अगाडि बढाएको मन्त्री लेखकको भनाइ थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully