'पारिश्रमिक नआउने अवस्था आएपछि कानुन व्यवसायीले पनि त्यस्तो मुद्दा नलडौं जस्तो व्यवहार गर्नुहुन्छ'
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पैसा नहुनेहरूका पक्षबाट मुद्दाको बहस गर्ने कानुन व्यवसायीले जितेमात्र पारिश्रमिक लिने कानुनी प्रावधान राख्नुपर्ने धारणा राखेकी छन् ।
नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबारको बैठकमा सांसद गौतमले उक्त कुरा बताएकी हुन् ।
आर्थिक अभावको कारणले धेरै नागरिकले न्याय नपाएको बताउँदै सांसद गौतमले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको मुद्दा लड्दा जितेको खण्डमा कानुन व्यवसायीले पारिश्रमिक पाउने कानुनी व्यवस्थता गर्नुपर्ने बताएकी हुन् ।
'जो अन्यायमा परेका छन्, जसले कानुन व्यवसायी नै पाउँदैनन्, जसले आफ्नो मुद्दा लड्नको लागि कानुन व्यवसायी पाउँदैनन्, उहाँहरूको लागि हामीले अन्यायमा परेको तर मुद्दा लड्ने पैसा नभएको मानिसको तर्फबाट कानुन व्यवसायीले मुद्दा लड्दा मुद्दा जितेमा चाहँदाखेरिको खण्डमा पारिश्रमिक दिने शर्त राख्न सकिन्छ,' सांसद गौतमको प्रस्ताव थियो, 'शर्त राख्न चाहनेका लागि शर्त राख्ने ठाउँ कानुनमा राखिदिँदा सहज होला । कसैले अवैतनिक रूपमा मुद्दा लडिदिन्छ भने त्यो व्यवस्था पनि गर्न सकिन्छ ।'
असहाय नागरिकका लागि मुद्दा जितेपछि मात्र पारिश्रमिक दिने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने बताउँदै सांसद गौतमले भनिन्, ‘धेरै मान्छे आफ्नो मुद्दा लड्नको लागि कानुन व्यवसायी नपाएर दुःखमा हुनुहुन्छ । कानुन व्यवसायीले आफ्नो पारिश्रमिकको विषय अगाडि नै स्पष्ट गर्नुहुन्छ । पारिश्रमिक नआउने अवस्था आएपछि कानुन व्यवसायीले पनि त्यस्तो मुद्दा नलडौं जस्तो व्यवहार गर्नुहुन्छ,' उनले भनिन्, 'अन्यायमा परेको मान्छेले कानुन व्यवसायीको साथ पाएको स्थिति छैन । मुद्दाको हारजितको आधारमा कानुन व्यवसायीको पारिश्रमिक तय हुने कुरा उपयुक्त छैन ।'
न्याय प्राप्तिमा समान पहुँच सुनिश्चित गर्नका लागि कानुनी सुधार आवश्यक रहेको सांसद गौतमको भनाइ थियो ।
