रिग्दी खोला र तुइन खोला आसपासमा कहिले पहिरो जाने त कहिले पहाडमा अडकेर बसेका साना-ठूला ढुंगा खस्ने जोखिम बारम्बार दोहोरिरहेको छ । पानी परेका बेला मात्रै हैन, पानी नपरेका बेला पनि यो सडक खण्डमा समस्या दोहोरिरहेको छ ।
What you should know
काठमाडौँ — सात वर्षअघि दुई लेनमा स्तरोन्नति गरिएको नारायणगढ-मुग्लिङ सडक खण्ड वर्षामा झनै जोखिमपूर्ण बनेको छ । कहिले सुख्खा पहिरो खस्ने त कहिले भीरबाट ढुंगा झर्ने समस्या दोहोरिएपछि यो सडक खण्डमा दुर्घटनाको जोखिम बढेको हो ।
यो सडक खण्डमा सबैभन्दा धेरै जोखिम नारायणगढबाट २६ किलोमिटर दूरी पार गरेर रिग्दी खोला कटेलगत्तै सुरु हुन्छ । यो त्यही ठाउँ हो, जहाँ असोज ११ को राति सडक भासिएको थियो । भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले त्यो बेला ९० मिटर लम्बाईमा सडकको आधा भाग भाँसिएको बताए ।
यहाँबाट करिब आठ किलोमिटर अगाडि बढेपछि आउँछ तुइन खोलाको पुल । यो पुलको नारायणगढ तर्फको मुखमा भने पानी पर्दा ढुंगा खस्ने समस्या छ । आइतबार पनि यो क्षेत्रमा हल्का वर्षा भएलगत्तै ढुंगा खस्न थालेको थियो । अनि डिभिजन सडक कार्यालयले सूचना निकालेर सावधानी अपनाइ यात्रा गर्न अपिल गरेको थियो । पुल बनाउन पहाड काटेसँगै पछिल्ला चार वर्षयता यो ठाउँमा कहिले ठूलै पहिरो जाने र कहिले साना ठूला ढुंगा झर्ने क्रम रोकिएको छैन ।
पानी परेका बेला मात्रै हैन, पानी नपरेका बेला पनि यो सडक खण्डमा समस्या आउने गरेको छ । जस्तो कि, असार तीन गते यहाँ सुख्खा पहिरो खस्यो । अनि सडक अवरुद्ध भयो । डिभिजन सडक कार्यालयका सूचना अधिकारी आचार्यले यही ठाउँमा दुई वर्षअघि पहिरो खस्दा लगातार २४ घण्टाभन्दा बढी बाटो अवरुद्ध भएको विगत सुनाए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही ठाउँमा गत साउन ४ गते आइतबार ढुंगा खसेर एउटा भारतीय कारमा क्षति पुगेको थियो भने तीनजना भारतीय यात्रु घाइते भएका थिए ।
सूचना अधिकारी आचार्यले भने क्षति कम गर्नकै लागि डिभिजन सडक कार्यालयले असार १२ गते हेटौंडाबाट एक्स्काभेटर ल्याएर अड्केका ठूला ढुंगाहरु सुरक्षित रुपमा खसालेको बताए । उनले भने, 'ठूलो पानी परे पहिरो नै जाने र सानो पानी पर्दा ढुंगा खस्ने गरेको छ ।'
डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले १६ मिटर परसम्मका ढुंगा झार्न मिल्ने ‘लङ बुम’ एक्स्काभेटर ल्याएर त्यो दिन काम गरेको बताए । उनले भने, 'सडकमा खस्ने जोखिम भएका अड्केका ठूला ढुंगाहरु त्यो दिन बाटो नै बन्द गरेर झारेका हौं । १६ मिटरसम्मका ढुंगा खसाल्यौं । तर माथि ४०/५० मिटर परसम्म पनि ढुंगा अड्केर बसेका छन् ।' उनले यस ठाउँमा स्थायी समाधान नै खोज्नुपर्ने बताउँदै आफूले यो कुरा विभागमा पनि राखेको बताए ।
फराकिलो बनाए पनि नारायणगढ-मुग्लिङ सडक खण्डमा बारम्बार समस्या आइरहेको छ । तुइन खोला आसपासमा माथिबाट ढुंगा खस्न त लागेको छैन भनेर सतर्क हुनुपर्ने अवस्था छ भने रिग्दी खोला आसपासमा गाडीको गति कम गर्नु पर्ने बाध्यता छ ।
सूचना अधिकारी आचार्यले तुइन खोला छेउछाउमा यस्तो समस्या कम्तीमा आठदेखि दस महिनासम्म हुनसक्ने र रिग्दी खोला छेउको समस्या आउँदो वर्षसम्म रहने बताए । भने, ‘पहिला एउटा गाडीमात्रै पार हुन्थ्यो । हामीले माटो गिट्टी भरेर असार अन्तिमदेखि एउटा सानो गाडी र एउटा ठूलो गाडी पार गर्न मिल्ने बनाएका छौं ।’
