नवलपरासीमा लम्पी स्किन रोगबाट पाँच वटा पशु मरे, एक सयभन्दा बढी प्रभावित

जिल्लाको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र प्रतापपुर र सरावल गाउँपालिकाका पशुमा उक्त रोगको संक्रमण देखिएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीले जनाएको छ ।

श्रावण २५, २०८२

नवीन पौडेल

Five animals died of lumpy skin disease in Nawalparasi, more than 100 were affected

परासी — पश्चिम नवलपरासीमा लम्पी स्किन रोग लागेर पाँच वटा पशु मरेका छन् । जिल्लाको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र प्रतापपुर र सरावल गाउँपालिकाका पशुमा उक्त रोगको संक्रमण देखिएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीले जनाएको छ ।

रोग फैलिएको क्षेत्रलाई घेराबन्दी गरेर संक्रमण फैलिन नदिने प्रयास गरिएको छ । संक्रमणबाट भैंसीभन्दा धेरै गाईमा रोग फैलिएको छ । पशु रोग अन्वेषण प्रयोगशाला पश्चिम नवलपरासीका पशु चिकित्सक भरत काफ्लेले जिल्लामा अहिलेसम्म २७ पशुमा लम्पी स्किन रोग देखापरेको पुष्टि भएको र १३ पशुको नमुना परीक्षणका लागि पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौं पठाएको बताए । 

असारमा बर्दघाट नगरपालिकामा देखिएको लम्पी स्किन रोग अहिले आएर जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिकाका पशुमा देखिएको छ । यो रोगबाट पशु संक्रमण भएपछि पशुका शरीरमा घाउ आउने र घाउ पाक्ने भएका कारण किसानलाई उपचार गर्नसमेत समस्या हुने गरेको छ । रोगको पहिचान भएका पशुको उपचार प्रक्रिया पनि सुरु भएको छ । जिल्लामा १ सय १८ वटा पशुमा यो रोगको लक्षण देखापरेको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully