सामाजिक सुरक्षा भत्ता नवीकरण, बायोमेट्रिकलगायत सेवा दिन काठमाडौंमा एकीकृत शिविर सञ्चालन गर्दै हिमाली पालिका ।
What you should know
ताप्लेजुङ र सोलुखुम्बु — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका धेरैजसो वृद्धवृद्धा काठमाडौंमा बस्छन् । उनीहरूले सामाजिक सुरक्षा भत्ता भने वडा कार्यालय ओलाङचुङगोलाबाट बुझ्छन् । बैंकिङ प्रक्रियाबाट मिल्ने भएकाले चौमासिक सुविधा काठमाडौंको बैंकबाटै लिने गरेका छन् ।
यस वर्ष सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक अनिवार्य गरिएको छ । अधिकांशले परिचय पत्र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमै आएर बनाइसकेका छन् । बायोमेट्रिकका लागि भने वडाध्यक्ष छेतेन शेर्पा लामा कम्प्युटरलगायतका सामग्री लिएर सेवाग्राही भएको काठमाडौंमै पुगेका छन् । काठमाडौंको बौद्ध नयाँबस्तीस्थित ओलाङचुङ समाज कल्याणको भवनमा बसेर सेवा प्रवाह दिँदै अएका छन् ।
नियमित औषधि खाइरहेका बिरामी छन्, स्वास्थ्य जाँच पनि नियमित गराउनुपर्छ, त्यसैले काठमाडौं बस्नैपर्ने बाध्यता भएका उनीहरुलाई त्यहीं पुगेर सेवा दिएका छौं – छेतेन शेर्पा लामा, वडाध्यक्ष, फक्ताङलुङ–७ ओलाङचुङगोला वडाध्यक्ष छेतेनका अनुसार यो वडाबाट सामाजिक सुरक्षा भत्ता लिने ५२ जना छन् । तीमध्ये २२ जना काठमाडौंमा छन् । ‘काठमाडौंमा भएका केहीको बौद्धमा घर छ । केही भाडामा बसेका छन् । उनीहरू सबैजसो नियमित औषधि खाइरहेका बिरामी छन् । स्वास्थ्य जाँच पनि नियमित गराउनुपर्छ,’ वडाध्यक्ष छेतेनले भने, ‘ओलाङचुङगोलामा उनीहरूको स्वास्थ्य उपचारको सुविधा छैन । सदरमुकाम फुङलिङ लैजान दुई दिन बोकाएर पुर्याउनुपर्छ । अहिले गाउँमा बोकेर ल्याउने मान्छे पनि छैनन् । त्यसैले काठमाडौं बस्नैपर्ने बाध्यतामा छन् ।’
काठमाडौंमा घर भएका पनि बसाइँसराइ लैजान नमान्ने गरेको उनले सुनाए । ओलाङचुङगोलाकै भएर मर्छौं भन्ने धेरै रहेको वडाध्यक्ष छेतेनको दाबी छ । ‘कतिपय त बसाइँसराइ ल्याउनुभन्दा भत्ता खाँदैनौ होस् बरु भन्ने पनि छन्, गाउँमै जान्छौं भन्छन् तर स्वास्थ्यले साथ दिँदैन,’ छेतेनले भने, ‘उनीहरुलाई काठमाडौंमै आएर सेवा दिएका छौं ।’ आफ्नो वडाको मात्रै सचिव नभएकाले ल्यापटप, बायोमेट्रिक गराउने सामग्री बोकेर हिँडेको उनले वताए । पालिकामा एक जना सचिवले धेरैवटा वडा हेर्नुपर्छ । वडासचिवले गर्ने काम आफूले पनि जान्ने भएकाले बायोमेट्रिक गराउन आफू स्वयं काठमाडौंमा पुगेको उनले बताए ।
चीन सीमावर्ती क्षेत्र ओलाङचुङगोलामा मोटरबाटो पुगे पनि बर्खा सुरु भएपछि अहिले लेलेपदेखि माथि गाडी जाँदैन । ओलाङचुङगोलाबाट याङमा पुग्न हिँड्न सक्नेलाई दिनभर लाग्छ । फक्ताङलुङ–७ मा दुईवटा मात्रै बस्ती छन् । सबैभन्दा टाढाको याङमामा ११ र ओलाङचुङगोलामा ५६ घर छन् । यो वडामा सर्वसम्मत निर्णय गरेर वडाध्यक्ष र सदस्यहरु स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएर निर्वाचित भएका हुन् ।
यस्तै, सामाजिक सुरक्षा भत्ता नवीकरणलगायत अत्यावश्यक कामका लागि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि काठमाडौंको चुच्चेपाटीमा एकीकृत शिविर सञ्चालन गरेको छ । उच्च हिमाली भेग र भौगोलिक विकटतालाई हेरेर पालिकाले काठमाडौंमा रहेका नागरिकका लागि सोही ठाउँमा गएर सेवा दिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए ।
शिविरमा ६ सय ६२ जनाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिए । उनका अनुसार पर्यटनलगायत व्यापार व्यवसाय, औषधि उपचारजस्ता बाध्यताका कारण काठमाडौंमा बस्ने स्थानीयलाई लक्षित गरी काठमाडौंमा शिविर आयोजना गरिएको हो । पालिकाका ५ वटै वडाका जनप्रतिनिधि र कर्मचारी अहिले सेवाग्राही खोज्दै काठमाडौं पुगेका छन् ।
सोलुखुम्बुकै नेचासल्यान गाउँपालिकाले काठमाडौंमा आयोजना गरेको एकीकृत शिविरबाट ११ सय बढीले सेवा लिएका छन् । पालिकाले साउन १९ देखि २२ सम्म ४ दिन काठमाडौंको सुकेधारामा एकीकृत सेवा शिविर सञ्चालन गरेको हो । स्थायी बसोबास नेचासल्यान भई काठमाडौंमा अस्थायी रूपमा बसोबास गर्दै आएका पालिकावासीको सहजताका लागि शिविर आयोजना गरेको गाउँपालिका अध्यक्ष धनजन राईले बताए ।
